'पत्रकारिता क्षेत्रलाई मर्यादित बनाऔँ’
Mayorsap
सोम, पौष ८, २०८१ | १५:३४ बजे
चितवन । पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन आजको आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको मङ्सिर २८ गते सम्पन्न अधिवेशनबाट निर्वाचित समितिको पद हस्तान्तरण कार्यक्रममा वक्तहरूले पत्रकारितालाई मर्यादित बनाउँदै लेख्ने बानीको विकास बढाउन आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रमका जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीले पत्रकारिता क्षेत्रमा देखिएका समस्यालाई सामूहिक रूपमा निरूपण गर्न आवश्यक रहेको बताए । पछिल्ला दिनहरूमा कतिपय सञ्चारमाध्यममा तथ्य बङ्गाएर समाचारहरू आउने गरेको भन्दै उनले तथ्यहीन समाचारले नागरिकले न्याय पाउन कठिन हुने बताए ।
न्यायाधीश ज्ञवालीले भने, “न्यायालयको समाचारमा देखिएको भाषिक समस्या समाधानका लागि सबै मिलेर अघि बढ्न आवश्यक छ ।” समाचार लेख्दा भाषिक छनोटदेखि सत्यतामा आधारित भएर समाचार लेख्न उनले आग्रह गरे ।
नेपाल पत्रकार महासङ्घका सचिव सिर्जना अर्याल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुवास पण्डित, प्रेस सेन्टर नेपालका जिल्ला उपाध्यक्ष राजेन्द्र आचार्य, नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारी लगायतले निर्वाचनमा मात्रै केन्द्रित भएर पत्रकार महासङ्घको सदस्य उत्पादनभन्दा लेखनशैलीको विकास भएका पत्रकारहरू उत्पादनमा जोड दिनुपर्ने बताए । समाचार खोज्ने र लेख्नेमा महत्त्व दिनुपर्ने भन्दै उनीहरूले अबका पुस्तालाई यसतर्फ केन्द्रित गर्न आवश्यक रहेको बताएका छन्।
सो अवसरमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले नवनिर्वाचित अध्यक्ष वसन्त पराजुलीलाई पद हस्तान्तरण गरेका थिए ।