देशभर मौसम सफा रहने पूर्वानुमान
Mayorsap
बिही, माघ १७, २०८१ | ०७:१५ बजे

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै विभागले शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।