Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

छिन्नमस्ता गाउँपालिकाद्वारा १८२ भूमिहिन परिवारलाइ लालपुर्जा वितरण

User Image Mayorsap | २०८१ माघ १७ गते ०८:५१
Image of storage/news/1738227261.jpg

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले सुकुम्बासी, भूमिहिन र ऐलानी जग्गामा बसोबास गर्नेहरुलाई जमिन दर्ता गरेर लालपुर्जा वितरण सुरु गरेको छ ।

 

केही दिन अघि मात्रै गाउँपालिकाले साविकको कोचाबखारी वार्ड नं. १ देखि ९ अन्तरगतका लोकराम, कोचा बखारी, खुदीबखारी र कुपही गाउँका १८२ परिवारलाई जमिनको लालपुर्जा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

 

‘यो क्षण हामी सबैका लागि ऐतिहासिक छ । साविकको कोचाबखारी वार्ड नं. १ देखि ९ अन्तर्गतका लोकराम, कोचा बखारी, खुदीबखारी र कुपही गाउँका १८२ परिवारलाई पहिलो चरणमा लालपुर्जा वितरण गरिएको छ। करिब ३० वर्षदेखि गाउँ ब्लकको जग्गामा पुर्जाविहीन बसेका यी परिवारहरू अब कानूनी रूपमा जमिनको स्वामित्वका हकदार बनेका छन्,’ अध्यक्ष चौधरीले भने ।

 

लामो समयदेखि जमिनविहिन अवस्था रहेका परिवारले लालपुर्जा पाउँदा उनीहरुको अनुहारमा देखिएको खुसी र आँखामा भरिएको भावुकता अविस्मरणीय रहेको पनि उनले बताए ।

 

‘लालपुर्जा हातमा पाउँदा यी परिवारका अनुहारमा देखिएको खुसी र आँखामा भरिएको भावुकता अविस्मरणीय छ। आफ्नो जीवनभर बसोबास गरेको जमिनको अधिकार पाउँदा उहाँहरूले व्यक्त गरेको कृतज्ञताले हामीलाई अझ प्रेरित र जिम्मेवार बनाएको छ,’ अध्यक्ष चौधरीले भने ।

 

हाल गाउँपालिकाका साविक सबै गाविसहरूको गाउँ ब्लक जग्गाहरूको नापी कार्य सम्पन्न भइसकेको छ । अहिले जग्गा दर्ता प्रक्रिया जारी छ। यो कार्य पूरा भए लगत्तै बाँकी सुकुम्बासी, भूमिहीन, र ऐलानी जग्गामा बसोबास गर्ने नागरिकलाई लालपुर्जा वितरण गरिने अध्यक्ष चौधरीले जानकारी दिए । आफ्नो लक्ष्य नै हरेक नागरिकलाई संविधानले सुनिश्चित गरेको गाँस, बास, कपासको अधिकारलाई पूर्ण रूपमा लागू गर्नु रहेको उनले बताए ।

 

लालपुर्जा पाएका १८२ परिवारका लागि करिब पाँच बिघा जग्गाको स्वामित्व सुरक्षित भएको छ।

 

‘उमेरको उत्तरार्धमा आएर आफ्नो अधिकार पाउँदा उहाँहरूले देखाएको खुसीले हामीलाई यो अभियानलाई अझ गतिशील बनाउने ऊर्जा दिएको छ। हामी प्रतिबद्ध छौं,देशका हरेक नागरिकलाई न्याय र अधिकार सुनिश्चित गर्न। यस यात्रामा हामीले देखेका खुसीका क्षणहरूले प्रमाणित गरेको छ कि सही उद्देश्य र दृढ संकल्पले सम्भावनालाई यथार्थमा बदल्न सकिन्छ,’ अध्यक्ष चौधरीले भने ।

 

अहिले भएको कार्य सुरुवात मात्र भएको भन्दै उनले सम्पूर्ण वडामा पुगेर बाँकी सबै नागरिकलाई अधिकार दिलाउन निरन्तर लागिरहने बताए ।


Facebook Comments