५५ वर्षिया ‘बुलेट आमा’ को सहासलाई काठमाडौं महानगरको सम्मान
Mayorsap
बिही, फागुन १५, २०८१ | १९:०३ बजे
काठमाडौं । काठमाडौं महानगरपालिकाले बुलेट आमा भनेर चिनिने शुशिला उप्रेती तिवारीलाई प्रशंशा पत्र प्रदान गरेको छ । बिहीबार महानगरका उपप्रमुख सुनिता डंगोलले उनको बुलेट मोटरसाइकल यात्राको प्रशंशा गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् । उपप्रमुख डंगोलले तिवारीको मोटरसाइकल यात्रा सहासी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् ।
नेपाली महिलाहरुले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरुका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा भएको उनको भनाई छ । त्यस क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गरेका थिए । यस्तै प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले खादा ओढाएका थिए ।
झापाको बुधबारे बसोबास गर्ने तिवारी ५५ वर्षकी छन् । ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै उनले गएको भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालनी गरेकी थिइन् । नवौँ दिनको मध्यान्नमा सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर त्यस चरणको यात्रा समापन गरेकी थिइन् । विगत यात्रा र आगामी योजनाका विषयमा जानकारी दिँदै उनले भनिन्, ‘सहासी र सशक्त नेपाली महिलाको पहिचान प्रवर्धन गर्न अब भारत, बंगालादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु । यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ ।’