चार करोडको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बस्दै आएका ४९ वर्षीय कुयाङछुयाङ दोर्जे लामा रहेका छन्। उनी दोलखा जिल्ला मेलुङ गाउँपालिका–३ का हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई काठमाडौं अनामनगरबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।
लामाविरूद्ध चार करोड ९ लाख २७ हजार १३७ रुपैयाँको बैंकिङ कसुरको मुद्दा रहेको छ। यसैगरी, प्रहरी वृत्त मालिगाउँमा रहेको २४ लाख रुपैयाँको बैंकिङ कसुरको मुद्दामा उनी फरार रहेका थिए । लामालाई अहिले आवश्यक कार्बाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।