हेटौंडालाई महिला मैत्री शहर बनाउने तयारी, अध्ययन सुरु
मेयर लामा भन्छिन्– परियोजनाले महिलाहरुको आत्मसम्मानको विकासमा थप सहयोग गर्नेछ
Mayorsap
बुध, चैत ६, २०८१ | १५:१० बजे

हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई महिला मैत्री शहरको रुपमा विकास गर्नका लागि अध्ययन सुरु गरिएको छ ।
दुई वर्ष अघिबाट शहरी विकास मन्त्रालयसँगको समन्वयमा नेपालका विभिन्न नगरपालिकालाई महिला मैत्री शहरको रुपमा विकास गर्न अध्ययन सुरु भएको थियो । हेटौंडा पनि त्यसका लागि उपर्यक्त शहरका रुपमा छानिएपछि थप अध्ययन सुरु भएको हो । पहिलो चरणमा ५ वटा नगरहरुलाई महिला मैत्री बनाउने कार्यक्रम चलिरहेको समयमा पछिल्लो पटक हेटौंडा र धनगढी उपमहानगरलाई समाबेश गरी काम अघि बढाइएको यूएनओपीएस परियोजनाले जनाएको छ ।
कार्यक्रम कार्यान्वयनका लागि हेटौंडामा परियोजनाका कार्यक्रम व्यवस्थापन विज्ञ चुडामणी जोशी र परियोजनाका सहयोजनाकार वर्षा श्रेष्ठको टोलीले महिला मैत्री पूर्वाधार निमार्णका लागि सम्भावित ठाउँहरु अध्ययन गरिरहेका छन् ।
हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, महिला मैत्री शहरका सम्पर्क व्यक्ति इन्जिनियर बिनित ओझासहित परियोजनाको टोलीले हेटौंडा–११ राप्ति पार्क निर्माण स्थल, हेटौंडा–१० स्थित राप्ति ताल क्षेत्र, हेटौंडा ८ नगर विकासमा रहेको खुल्ला क्षेत्रकोे अवलोकन गरेका थिए ।
परियोजना अन्तरगत पहिलो चरणमा खुल्ला सार्वजनिक क्षेत्रको पहिचान, प्राथमिकीकरण, वडाहरुको रेखाङकनको काम हुने छ । परियोजनाले देशभरका २९३ वटै स्थानीय तहको भ्रमण र अध्ययन पछि कामलाई अघि बढाएको हो । परियोजनाका विज्ञ जोशीका अनुसार अहिले हेटौंडा र धनगढी बाहेक बिराटनगर, चन्द्रागिरी, सुनवल, लम्किचुहा, तानसेन र तिलोत्तमा नगरपालिकामा महिला शहर निर्माणको काम भइरहेको छ ।
हेटौंडा र धनगढीमा सुरु हुने परियोजना ४ वर्षसम्म चल्नेछ । परियोजना अनुसार महिलाहरुले सार्वजनिक ठाउँहरुमा महिला र अशक्त नागरिकहरुको सहज पहुँचको अवधारणालाई अघि सार्ने बताइएको छ ।
नयाँ थपिएका दुई उपमहानगरमा युरोपियन युनियन र फिनल्याण्ड सरकारको सहयोग रहने छ । परियोजना कार्यान्वयनका लागि एक पालिकामा करिब साढे पाँच करोड रुपैयाँ आउने बताइएको छ ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले युरोपका विभिन्न मुलुकको अध्ययन अवलोकन भ्रमणको समयमा हेटौंडालाई महिला मैत्री शहर निर्माणका लागि उपमहानगरको तर्फबाट प्रस्ताव गरेकी थिइन् । त्यही आधारमा परियोजनाले हेटौंडामा अध्ययन सुरु गरेको हो । परियोजना कार्यान्वयनमा आएसँगै बाहिर निस्कन नसकेका महिलाहरु सशक्त बन्ने र समाजमा घुलमिल हुँदा सुरक्षित हुने बिश्वास आफूले गरेको नगर प्रमुख लामाले बताइन् । उनले भनिन्, ‘परियोजनाले महिलाहरुको आत्मसम्मानको विकास, जिम्मेवार, भावनात्मक रुपमा थप बलियो बनाउनका लागि मद्दत पुग्ने छ ।’
परियोजनाको टोलीले उपमहानगरपालिकामा कार्यक्रम कार्यान्वयनका बारेमा छलफल गरेको थियो । छलफलमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, बिज्ञ सल्लाहकार कृष्णप्रसाद धिताल, महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, वातावरण महाशाखा प्रमुख सत्यदेबी अधिकारी, इन्जिनियर सुबोध थापा, उद्धब रिमालको उपस्थिति थियो ।