भरतपुर डायरीः अवैध क्रसर उद्योग सञ्चालनबारे समाचार प्रकाशित गर्दा ‘अत्तालियो’ मेयर रेणुको टिम
समाचार हटाउन सचिवालयबाट दबाब, ठाउँ ठाउँमा निगरानी, प्रलोभन र धम्की

आरसी मिश्र
शनि, चैत २, २०८१ | १९:२७ बजे

वीरगन्ज । घटना गएको फागुन २४ देखि २६ गतेसम्मको हो । मेयरसाप डट कमको टिम भरतपुर महानगरमा भएको विकासको स्थलगत रिपोर्टिङ गर्न चितवन पुगेको थियो । फागुन २४ गते बिहान चितवन पुगेको मेयरसाप डटकमको टिमले महानगरका केही कार्यपालिका सदस्यसँग छलफल गर्ने मौका पायो । हामीले मेयर रेणु दाहालसँग उनले गरेको विकासबारे जानकारी लिने र स्थलगत रिपोर्टिङ गर्ने तयारी गरेका थियौं । मेयर रेणुको सचिवालयमा हामीले मेयर रेणुसँग कुराकानी गर्न समय माग गर्यौ । उनका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीलाई बिहान कार्यालय समय सुरु हुनुभन्दा अघि नै २४ गते फोन सम्पर्क गरी भरतपुर महानगरमा स्थलगत रिपोर्टिङमा आएको र मेयरसँग सम्वाद गर्ने समय मिलाइदिन अनुरोध गर्यौ । अधिकारीले आफू मिटिङमा रहेको र पछि सम्पर्क गर्ने बताए ।
अधिकारीको फोन नकुरी हामीले मेयर रेणुका स्वकीय शिव बस्नेतलाई सम्पर्क गर्यौ । बस्नेतले मेयर रेणु ११ बजेसम्म बैठकमा रहने र ११ बजेपछि भेट्न सकिने जानकारी गराए । हामीलाई उनले ११ः३० देखि १२ः०० बजेतिर आउन अनुरोध गरे । हामीले कार्यालय समयमा फेरि रेणुका प्रेस सल्लाहकार अधिकारीलाई सम्पर्क गर्यौ । तर अधिकारीले फोन उठाएनन् । हामी १२ बजेपछि भरतपुर महानगर पुग्यौं । हामी भरतपुर महानगरको कार्यालय पुग्दा लगभग १२ः३० नै भएको थियो । त्यतिबेलासम्म मेयर रेणु कार्यालयमै थिइन् । हामी सडक निर्माणसँगै सडकको सौन्दर्यकरण, ट्राफिक व्यवस्थापन, बसपार्क निर्माण, इ–रिक्साको बदलामा आवश्यकताभन्दा बढी अटोहरु दर्ता, ढल निकास, सहरको क्रंक्रिटाइजेसन, नारायणी नदी किनारमा मैदान निर्माण र कंक्रिटाइजेशनलगायतका विषयमा उनीसँग जिज्ञासा राख्ने र प्रत्येक्ष अवलोकन गरेर रिपोर्टिङ गर्ने तयारी गरेर महानगरपालिका प्रवेश गरेका थियौं ।
हामी कार्यालयमा पुग्यौं । मेयर रेणुको सचिवालयमा पुगेर उनका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीसँग परिचय गर्यौं । उनले मेयर रेणुसँग कुराकानी गर्ने समय नभएको सतही जानकारी गराए । हामीले अधिकारीलाई आफूहरुले मेयर रेणुको स्वकीय शिव बस्नेतले समय मिलाइ दिएको भनेकाले कार्यालयमा आएको बतायौं । उनले आफूलाई त्यस विषयमा जानकारी नभएको बताए । थप उनले ‘मिडिया हेर्ने सुरेन कुँवर भाइ परीक्षा दिन गएको र उनलाई फोन गरेर आउनू’ भन्ने ओठे जवाफ फर्काए । हामीले सुरेन कुँवरको नम्बर टिप्यौं । ‘समय माग नै गरेर आएको र सचिवालयमा किन समन्वय नभएको हो ?’ भन्ने प्रश्न उठायौं । उनले आफूलाई जानकारी नभएको मात्रै भने । हामीले ‘रिपोर्टिङका विषयबस्तुबारे जानकारी लिन कहिले पाउने ?’’ भन्ने अर्को प्रश्न गर्यौ । उनले ‘समय मिलाउनु पर्ने र केही दिनपछि फोन गरेर सोध्नू !’ भन्ने जवाफ फर्काए ।
हामी त्यहाँबाट फर्कियौं र केही वडा कार्यालयका जनप्रतिनिधिहरुसँग भेट्न गयौं । वडा नम्बर १ का वडा अध्यक्ष केशव महर्जनले कार्यपालिका बैठकमै ठिमुरामा अवैध रुपमा क्रसर उद्योग सञ्चालन भइरहेको विषय पटक पटक कार्यपालिका बैठकमा उठाएको हामीले जानकारी पाएका थियौं । उनीसँगको भेटपछि उनले महानगरपालिकामा यो विषय पटक पटक उठाएको हामीले बुझ्यौं । तर महानगरको कार्यपालिका बैठकमा ठिमुरामा अवैध क्रसर सञ्चालनको विषयमा उठेको प्रश्नमा मेयर रेणुले ‘नेपालभर यस्तै अवस्था रहेको कारण यहाँ मात्रै रोकेर के हुन्छ र ?’ भन्ने गैरजिम्मेवार प्रतिउत्तर फर्काएको जानकारी पनि पायौं । अर्की कार्यपालिका सदस्य सुकुमाया परियारले पनि उक्त विषय कार्यपालिकामा पटक पटक उठेको पुष्टि गरिन् । वडा नम्बर ३ का अध्यक्ष विकास थापाले पनि यो विषय उठेको पुष्टि गरे । महानगरको राजश्व शाखाले क्रसर बन्द गरी राजश्व विवरण बुझाउन पत्र काटेको पनि भेटियो । तर उक्त क्रसर निरन्तर चलिरहेको पनि भेटियो । कार्यपालिका सदस्यहरुले नै उक्त क्रसर मेयर रेणुकै ‘पावर’मा चलेको आशंका गरेका रहेछन् । भरतपुर महानगरको २९ नम्बर वडामा पनि अवैध तरिकाले क्रसर सञ्चालन भइरहेको केही कार्यपालिका सदस्यहरुले हामीलाई जानकारी गराए ।
संयोगवश २४ गते नै भरतपुरमा कार्यपालिका बैठक बसेको रहेछ । केही अघिदेखि मेयर रेणुको ‘पावर’ देखाएर वडा नम्बर १ मा अवैध क्रसर उद्योग सञ्चालन भएको विषय चितवनमा चर्चा भइरहेको थियो । यस विषयमा मेयरसाप डटकमको डेक्सले ‘क्रसर उद्योगमा मेयर रेणुको ‘कनेक्सन’बारे भरतपुर कार्यपालिकामा उठ्यो प्रश्न’ शीर्षकको एक समाचार प्रमाणसहित प्रकाशित गरेको थियो । केही कार्यपालिका सदस्यहरुले हामीसँगको सम्बादमा वडा नम्बर १ भरतपुरमा अवैध क्रसर उद्योग सञ्चालन भइरहेको र पटक पटक कार्यपालिका बैठकमा अवैध क्रसर सञ्चालनको विषय उठाउँदा पनि बन्द नगराइएको गुनासो पोखे । हामीले यस विषयमा मेयर रेणु दाहालसँगै जवाफ माग्ने तयारी गरेका थियौं ।
हामीले अवैध क्रसर उद्योग सञ्चालनलगायत भरतपुरमा सडक पीच गरेको विषय दीगो विकासको नीति अनुकूल भए नभएको विषयमा विषय विज्ञ र स्थानीय नागरिकहरुसँग सम्बाद गर्ने प्रयास गर्यौ ।
रेणुको सचिवालयमा काम गर्ने सुरेन कुँवरसँग हामीले २५ गते सम्पर्क गर्यौ । फोन सम्वादमै उनले ‘मेयर रेणुको विषयमा नराम्रो सन्देश जानेखालको समाचार किन प्रकाशित गरेको ?’ भनेर प्रश्न गरे । उनले त्यो समाचार मिलाइदिन अनुरोध पनि गरे । अर्थात सकेसम्म हटाउन, नभए पनि रेणुको नाम नजोडिदिन अनुराधे गरे । हामीले समाचार नसच्चिने बरु खण्डन पठाइदिन अनुरोध गर्यौ । उनी खण्डन पठाउन तयार भएनन् बरु प्रतिउत्तरमा हामीलाई भने, ‘के सहयोग गर्नु पर्छ, गर्छौ तर सकिन्छ, समाचार हटाउनु नभए पनि मेयर रेणुको नाम नजोडिदिनू ।’
उनले अझ अगाडि बढेर भने– ‘मेयरको नाम नजोडेको भए बरु त्यो रोक्न्थ्यिो होला, अब उहाँलाई नै ट्याग गरेर समाचार हालेपछि त कसरी हुन्छ ? उनीसँग महानगरको कार्यालयमै भेट्ने कुराकानी भयो । त्यही दिन हामी उनलाई भेट्न कार्यालयमै गयौं । उनीसँगको सम्बादपछि त हामी अझ अचम्ममा पर्यौं । उनले मेयर रेणुको विषयमा नराम्रो देखिने समाचार नलेखिदिन अनुरोध गरे । कुँवरले मेयर रेणुलाई सोध्ने प्रश्नहरु पहिला सचिवालयमा बुझाउनुपर्ने, सचिवालयले ‘सेन्सर’ पास गरेपछि मात्रै मेयरसँग सम्बाद गर्न मिल्ने बताए । घुमाउरो पारामा उनले अघिल्लो दिन राखेको समाचार हटाउन पनि भने । उनले भनेजस्तो हामीले गरेनौं । उनी थप रिसाए । हामीसँग चिनजान गरेपछि कुँवरले हाम्रा साथीहरुलाई फोन घुमाएछन् । २५ गते ४ बजेतिर उज्यालोमा सँगै काम गरेका एक साथीले फोन गरे । सुरेनले ती साथीलाई ‘समाचार हटाइदिन फोन गरिदिनू’ भनेर दवाव दिएछन् । शर्मा थरका ती साथीले सम्बादमा सुरेनले समाचार हटाइदिन भनिदिनुपर्यो भनेकाले फोन गरेको बताए ।
२५ गते एक ट्रायल सेन्टरमा हामी गएका थियौं । त्यो विषयपछि त झन कुँवर हामीप्रति रुष्ट नै भए । समाचार प्रकाशित भएकै कारण हामी जहाँ जहाँ जान्छौं, त्यहाँ त्यहाँ मेयर रेणुको सचिवालयको टिम हाम्रो निगरानीमा पछि लाग्यो । खासमा भरतपुरमा चालक अनुमतिपत्रका लागि ट्रायल दिन पाउने सुविधा महालक्ष्मी ड्राइभिङ सेन्टर प्रालिले पाएको रहेछ । त्यसमा पनि राजनीतिक ‘कनेक्सन’ रहेको स्थानीयबासीको गुनासो छ । मेयर रेणुको सचिवालयमा प्रेस सल्लाहकार रहेका सुरेशचन्द्र अधिकारीलगायतको लगानी रहेको उक्त ड्राइभिङ सेन्टरमा अन्य ठाउँबाट ड्राइभिङ सिकेर आएका नागरिकहरुले त्यहाँ पैसा नतिरी ट्रायल ‘पास’ नगराउने अवस्था रहेको गुनासो एक जनप्रतिनिधिले नै गरेका थिए । उक्त ट्रायल सेन्टर पारस बसपार्क पछाडि वडा नम्बर ८ मा रहेको छ । त्यहाँका केही जनप्रतिनिधिहरुका अनुसार त्योभन्दा राम्रा र ठूला ट्रायल सेन्टरलाई पछि पार्दै यो ट्रायल सेन्टरले चालक अनुमतिपत्रको परीक्षा लिने अधिकार हात पारेकोले यहाँ राजनीतिक चलखेल रहेको आशंका रहेछ ।
पैसा तिरेपछि ड्राइभिङमा केही कमजोरी भए पनि लाइसेन्स हातमा प्राप्त हुने अवस्था उक्त ट्रायल सेन्टरमा रहेको गुनासो सुनेपछि हामीले त्यहाँ बुझ्ने प्रयास गर्यौं । हामीले त्यही बुझ्न ट्रायल सेन्टरमै जाँदा त्यहाँ मेयर रेणुका प्रेस सल्लाहकार अधिकारी विभिन्न कोठामा आउजाउ गरिहरहेका थिए । उनले हामीलाई चिन्न भ्याएका रहेनछन् । सायद उनी दिनभरको त्यहाँको कारोबार मिलाउन व्यस्त भएकाले हाम्रो विषयमा ध्यान दिन भ्याएका थिएनन् ।
उनका छोरा नै त्यहाँका प्रबन्धक रहेछन् । हामीले त्यहाँ भएका व्यक्तिलाई हाम्रै टिमको एक साथीलाई देखाउँदै सोध्यौं–‘हाम्रो यो भाइ, १० दिनपछि अष्ट्रेलिया जाँदैछ, १० दिनभित्र ड्राइभिङ लाइसेन्स दिन सकिन्छ ?’ उनले भने– ‘सकिन्छ ।’ ‘ड्राइभिङको कुनै अनुभव नभएको भाइले कसरी सक्छ त लाइसेन्स लिन ?’ भन्ने हाम्रो जिज्ञासा थियो । उनले सबै काम सजिलै मिल्ने तर त्यसका लागि पैसा लाग्ने बताए । हामीले पैसा कति लाग्छ भनेर सोध्यौं । ड्राइभिङ नै सिकाउने ती युवाले ३५ देखि ४० हजार लाग्ने बताए । अर्का एक जनाले ३८ हजार लाग्ने बताए । उनी पनि त्यहाँका ड्राइभिङ सिकाउने व्यक्ति रहेछन् । हामीले ‘ग्यारेण्टी के हो ?’ भन्ने प्रश्न उठायौं । उनले सुरेशचन्द्र अधिकारीलाई देखाउँदै भने–‘सर नै आउनुभएको छ । नपत्याए उहाँसँगै कुरा गरेर टुंग्याउँदा पनि भइहाल्छ । हामीले जिम्मा लिएपछि फरक पर्दैन ।’
उनले बील काट्न नै लगाएका थिए । हामी पनि बील काट्न गयौं । तर बील काट्ने मान्छे घर गइसकेका रहेछन् । उनले भोलि बिहान ७ बजे नै आउन भने । यी सबै बार्तालाप हामीसँग अझै सुरक्षित छ । हामी त्यहाँबाट निस्कियौं । हामी निस्किएपछि हामीसँग सम्बाद गर्ने ती युवासँग हाम्रो परिचय अधिकारीले मागेका हुनसक्छन् ।
हामीलाई समेत त्यहाँ ३८ हजार तिर्दा १० दिनमा गाडीको लाइसेन्स उपलब्ध गराइदिने ग्यारेण्टी उनीहरुले दिएका थिए । साँझपख हामी त्यहाँ पुगेका थियौं । त्यहाँबाट निस्केको लगभग एक घण्टापछि हामीलाई सुरेन कुँवरले फोन गरे । सोधे, ‘तपाईँहरु कहाँ हो ? ……ड्राइभिङ सेन्टरमा जानु भएको थियो ? ड्राइभिङ सेन्टरमा किन जानु भएको थियो ? मैले ड्राइभिङ सेन्टरमा खटाएको हो भनेर म माथि प्रश्न उठाएका छन् ।…..’’ रातको लगभग साढे १० बजेको आसपासमा फोन आउँदा हामी अझ झस्कियौं । हामी पत्रकार भएको अधिकारीले थाहा पाएपछि मेयर रेणुको सचिवालयमै हंगामा भएछ । त्यही भएर कुँवरले सुत्नेबेलामा फोन गरी ‘ड्राइभिङ सेन्टर किन गएको ?’ भनेर प्रश्न सोधेका रहेछन् ।
हामीले यस विषयमा अधिकारीसँगै कुराकानी गर्ने बतायौं । कुँवरले फोनमा भेट्नै पर्ने आवश्यकता रहेको बताएका थिए । हामी भेट्न तयार रहेको जानकारी कुँवरले पाएपछि फोन राखे । हामीले त्यसको भोलिपल्ट बिहान कुँवरले उठाएको प्रशंङ्ग बुझ्न र स्थानीयबासीले उठाएको आरोपको जवाफ माग्न सुरेशचन्द्र अधिकारीलाई फोन गर्यौं। उनले फोन उठाएनन् । ट्रायल सेन्टरमा ‘पैसाको चलखेल हुन्छ’ भन्ने गुनासो धेरैको पायौं । त्यसमा मेयर रेणुको पावर देखाएर अधिकारीले ‘साम्राज्य’ खडा गरेका रहेछन् भन्ने बुझाइ हाम्रो रह्यो । नाम नखुलाउने शर्तमा भरतपुरका दुईजना जनप्रतिनिधिले त अधिकारीको ट्रायल सेन्टरमा चालक अनुमति पत्रको परीक्षा दिनुभन्दा अन्य ठाउँमा गएर परीक्षा दिँदा कम खर्चिलो र सस्तो पर्ने गुनासो धेरै आएको हामीलाई बताए । उनीहरुले आफ्नै ठाउँमा पनि पैसाका लागि क्षमता भए पनि ट्रायलमा फेल गराइने जनताको गुनासो रहेको जानकारी गराए । उनीहरुले मेयर रेणुलाई भेटेर यो गुनासो सुनाइदिन अनुरोध पनि गरेका थिए ।
हामीले उक्त महालक्ष्मी ड्राइभिङ सेन्टरका अध्यक्ष डम्वरबहादुर थापालाई सम्पर्क गर्यौं । उनीसँग कुराकानी गर्दा हामीले थाहा पायौं कि त्यहाँ ड्राइभिङ लाइसेन्स लिन पैसाको चलखेल हुने गरेको गुनासो सिडियो हुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासम्म पुगेको रहेछ । थापाकै भनाईअनुसार उनलाई एक पटक मुख्यमन्त्री बहादुर सिंह लामाले बोलाए ‘पैसा लिएर लाइसेन्स किन बेचेको ? सामान्य नागरिकलाई किन अप्ठ्यारो पारेको ?’ भनेर हप्काएका रहेछन् । एक पटक चितवनकै सिडियोले एक महिलाको उजुरीका आधारमा त्यहाँका गाडीहरु सबै उनको कार्यालयमा लगेर जाँच गर्ने तयारी गरेका रहेछन् । अधिकारीले नै ‘पावर’ लगाएर त्यो घटना रोकिएको थापा आफैँले हामीसँगको सम्बादमा भने । अधिकारीले मेयर रेणुको पावर देखाएर दुःख दिने गरेको केही नागरिकहरुको गुनासो पनि हामीले सुन्यौं ।
२६ गते सुरेन कुँवरले हामीलाई भेट्नुपर्ने बताएका थिए । हामीले पनि भेट्न हिच्किचाएनौं । त्यही दिन हामी प्रहरी अधिकारी र सरकारी निकायमा डेटाका लागि भेटघाट गर्दै थियौं । जिल्ला ट्राफिक कार्यालय चितवनमा ट्राफिक व्यवस्थापनको विषयमा कुराकानी गरिरहेका थियौं । डेटाहरु हेर्दै थियौं । कुँवर त्यहीँ आइपुगे । उनले प्रहरी अधिकारीहरुलाई निम्तो दिँदै एक कार्ड छोडे । हामीतिर इंकित गर्दै कुँवरले भने– ‘तपाईँहरु अपरेसनमै हुनुहुन्छ ! हाम्रा मान्छेहरु काठमाडौंमा पनि हुनुहुन्छ । यसरी नै घुमेर हेर्नुहुन्छ ।……..’ उनको त्यो भाषा हामीलाई ‘अझै घुम्दैछस्, तँलाई पख् !’ भन्ने शैलीको थियो । यो सबै दुईजना प्रहरी अधिकारीहरुले सुनिरहेका थिए । विषय र प्रशंङ्ग थाहा नभए पनि उनीहरु कुँवरको बोल्ने शैली देखेर अचम्ममा परे होलान् । हामीले संयम भई उनको बोल्ने शैली र शब्दमा आपत्ति जनायौं । त्यसपछि उनी अलि संयम भए । यसअघि नै उनले हामीलाई भेट्नै पर्ने बताएका थिए । हामीलाई त्यहाँ पनि खाना नखाएको र केही पछि भेट्ने उनले बताए र निस्किए ।
ट्राफिक कार्यालयमा आवश्यक डेटा लिएपछि हामी त्यहाँबाट निस्कियौं । केही पछि उनलाई हामीले फोन गर्यौ । उनले एक रेष्टुरेन्टमा हामीलाई बोलाए । हामी लाइभ लोकेसन हेर्दै उनले बोलाएको ठाउँमा पुग्यौं । उनी खाना खाँदै रहेछन् । उनको साथमा सन्तोष देउजाको टिम रहेछ । देउजा र उनीबीच पारिवारिक सम्बन्ध पनि रहेछ । देउजामार्फत उनले हामीलाई मेयर रेणुका नराम्रा समाचार नलेख्न धक्म्याउन खोजेका रहेछन् । चिनजान गर्दै जाँदा देउजाले हामीलाई धक्म्याउन सकेनन् । उनी हच्किए । मात्रै राम्रो समाचार लेखिदिन अनुरोध गरे ।
‘चिनजान नभएर हो । अब चिनजान भयो । …… ब्रतबन्ध छ। कार्ड बाँड्न ब्यस्त छौं । के सहयोग गर्नुपर्छ, गर्छौ । आज बेलुका भेटौं । आज बस्नुहोस्’, देउजाले हामीलाई भने । उनले मेयर रेणुसँग भेट्न अब कुनै समस्या नभएको हामीलाई आश्वासन दिए । हामीले चितवनबाट सायद फर्किन्छौं होला भन्ने जवाफ फर्कायौं । उनले बेलुका सम्बाद गर्ने बताए । हामीले त्यो दिन भरतपुरको फोहोरको व्यवस्थापन, नारायणी नदी किनारमा महानगरले गरेको खर्चको प्रत्येक्ष अवलोकन गर्यौ ।
साँझतिर हामी चितवनमै हुँदा देउजाले फोन गरे । फोनमा उनले दिनभर व्यस्त रहेको र समय दिन नपाएकोमा ‘सरी’ भने । उनले हामीलाई भेटौं भने । हामीले चितवनबाट निस्किएको बतायौं । उनले भेट्न समय नमिलेकोमा पछुतो भएको जस्तो भावमा सम्बाद गरे । हामीले फेरि भेट भइहाल्छ नि भन्ने उत्तर दियौं । उनले चितवन आउँदा आफूलाई सम्पर्क गरेर आउन र सबै चाँजोपाँजो आफूले मिलाउने जानकारी हामीलाई दिए । अन्त्यमा देउजाले घुमाउरो पारामा मेयर रेणुका राम्रा मात्रै सामाचार लेख्न र नराम्रा समाचार लेखेर तनाव नदिन अनुरोध गरे । मेयर रेणुको समाचार सेन्सर गर्ने सचिवालयको टिमको काम हेर्दा हामी अचम्ममा पर्यौं । पारदर्शीता चाकरीमा होइन, आलोचनात्मक टिप्पणीमै हुन्छ भन्ने विषय मेयर रेणुले बुझ्नुपर्ने हामीले पायौं । स्थानीय जनताहरुले मेयर रेणुले गरेको कामको प्रशंसा पनि गरेका छन् । तर केही गम्भीर प्रश्नहरु उठाएका पनि छन् ।
मेयर रेणुमाथि उठेका केही गम्भीर प्रश्नहरु र प्रशंङ्साहरु हामीले यस्तो पायौं ।
सडक पीच गर्दा सयौं वर्ष पुराना वर, पिपलका रुख काटेर मासेको आरोप रेणुमाथि छ । विशेष गरी वडा नम्बर ३ का सडक पीच गर्दा वर, पीपलका सयौं वर्ष पुराना रुखहरु काटिएको रहेछ । ती रुखहरु जोगाएरै त्यहाँ सडक पीच गर्न सकिने अवस्था रहेको स्थानीयबासीहरु नै बताउँछन् ।
प्रदेश सरकार र संघीय सरकारले गरेको काम आफ्नो भनेर प्रचार गर्नु सान्दर्भिक नभएको प्रतिक्रिया पायौं । तर कतिपयले भने मेयर रेणु नभएको भए त्यति धेरै पैसा चितवनमा नआउने भएकाले उनले श्रेय लिनु नराम्रो नभएको बताए ।
धेरै नागरिकले मेयर रेणुले भरतपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा धेरै पैसा खन्याएको र आउँदो निर्वाचनका लागि तयारी गरेकाले सबै ठाउँमा समान तरिकाले बजेट बिनियोजन नगरिदिएको आरोप लगाए । उनले आउँदो निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्ने बताइसकेकी छिन् ।
केही जनप्रतिनिधिहरुले मेयर रेणुले महानगरको पैसा एकलौटी खर्च गरेको आरोप लगाएका छन् । उनले भनेको ठाउँमा मात्रै बजेट खर्च हुने अवस्थाको अन्त्य हुनुपर्ने जनप्रतिनिधिहरुको माग छ ।
धेरैले भरतपुर महानगरपालिकामा मेयरमा रेणु दाहाल निर्वाचित नभएको भए यति चाँडै सडक पीच नहुने तर्क पनि गरे । यो उनको प्रशंसा पनि हो । बत्ति जडानमा पनि उनलाई नागरिकहरुले प्रशंसा नै गरे । भित्री सडकहरु पीच भएको विषयमा नागरिकहरुले प्रशंसा गरे । फोहोर उठाएर महानगर सफा राखेकोमा मेयर रेणुको नागरिकहरुले प्रशंङ्सा नै गरे ।
सडक बनाउँदा पैदल यात्री र साइकल यात्रीको अधिकार मिचेको ठूलो आरोप मेयर रेणुमाथि छ । साइकल लेन नबनाएकोमा धेरै गुनासो उनीमाथि छ ।
सडकमा ट्राफिक व्यवस्थापन गर्ने गरी संकेतहरु नराखेको, ट्राफिक लाइट नराखेको, सडक काट्दा पैदल यात्रुहरु असुरक्षित रहेको पायौं ।
बसपार्क व्यवस्थित र उचित ठाउँमा नरहेको गुनासो पनि उत्तिकै उठेको पायौं ।
केही व्यक्तिहरुको प्रभावमा (विषेशगरी कार्यकर्ताको प्रभावमा) इ–रिक्सालाई हटाएर अटो र म्याजिकलाई जति पनि दर्ता गर्न दिएको र त्यसले प्रदुषणसँगै दुर्घटना बढाएको गुनासो पायौं । अटो र म्याजिकको मनोमानी भाडादरमा मेयर रेणुले आँखा चिम्लिदिएको विषय पनि नागरिकको गुनासोको विषय रहेछ ।
ठूला सार्वजनिक सवारीसाधनलाई भरतपुरका सडकमा सञ्चालन गर्न निषेध गरेर अटो र म्याजिकमार्फत नागरिकहरुले बढी भाडा तिर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना गरेकोमा भरतपुरबासी मेयर रेणुसँग रुष्ट भएको पायौं ।
भरतपुरमा ६ लेनको सडक बिस्तार गर्दा भरतपुर पस्ने र निस्कने सडक साँघुरो भएकाले भरतपुर छिरेपछि गाडीका स्पिड बढ्ने र त्यसले दुर्घटना बढाएको पायौं । त्यसमा ६ लेनको सडकमा साइकल लेन, ट्राफिक लाइट, संकेतहरु नराखेका कारण अझ समस्या बिकराल रहेको पायौं ।
सार्वजनिक शौचालय निर्माणमा मेयर रेणुले ध्यान दिनुपर्ने देख्यौं ।
नरायणी नदीमा करोडौं पैसा खर्च गरेर बिना अध्ययन क्रंक्रिटाइजेसन गरेको र त्यो पैसा पानीमै गएको पायौं । अझ नदीको किनारमा रहेका अव्यवस्थित बसोबासीको विषयमा मेयर रेणुले प्रभावकारी कुनै योजना ल्याउन नसकेको देखियो ।
भरतपुरभर क्रंक्रिटाइजेसन बढ्दो क्रममा रहेकाले जमिनमा पानीको रिचार्ज गराउने विषयमा महानगरले विशेष ध्यान दिनुपर्नेमा त्यसमा कुनै ध्यान नगएको पायौं ।
फोहोर बेचर पैसा कमाइरहेको बताउने मेयर रेणुले फोहोरको कुनै बर्गिकरण नै नगरी जंगलमा सबै फोहोर लगेर फ्याल्न दिएको देख्यौं । अस्पतालबाट निस्केका फोहोर पनि त्यही फोहोरमा फ्यालेको पायौं । पर्यावरणका लागि यो काम धेरै घातक देखिन्छ । अहिले फोहोरबाट केही प्लाष्टिक, फलाम, कागजलगायत ‘सेग्रिगेट’ गरे पनि कुहिने र नकुहिने भनेर सबै छुट्याइएको पाइएन ।
शहरको ढल सिधै नारायणी नदीमा पठाइएको भेटियो । यसले नारायणी नदी पनि काठमाडौंको बागमती हुँदै छ भन्ने सन्देश दियो । ढलको उचित व्यवस्थापनमा मेयर रेणुले काम गर्न नसकेको देखिन्छ ।
महानगरका प्राकृतिक खोल्साहरुमा पनि क्रंक्रिटाइजेसन गर्ने योजना अघि बढाएकोमा स्थानीय नागरिकहरु चिन्तित रहेको पायौं । खोल्साहरुबाट जमिनमा पानीको रिचार्ज हुनेमा क्रंक्रिटाइजेशन भएमा जमिनमा पानीको रिचार्ज बिस्तारै घट्ने र बढ्दो भरतपुरको बसोबासले जमिनमुनीबाट पानी तान्दा पानी सुक्दै जाने बिकराल समस्या आउने देखिन्छ ।
अन्त्यमा मेयर रेणु भएकै कारण भरतपुरमा धेरै पैसा आएको सबैको बुझाइ देखियो । तर आएको पैसा विस्तृत अध्ययन नै नगरी विकासका काम भन्दै जथाभावी खर्च गराइएकोमा मेयर रेणुको आलोचना पनि भइरहेको देखिन्छ । मेयर रेणुले भरतपुरलाई पनि काठमाडौं जस्तै ‘डेड सिटी’ बनाउने काम गरिन् भन्ने चिन्ता नागरिकमा देखिन्छ ।
याे पनि पढ्नुहाेस्