पाँच हजार सात सयले बढ्यो सुनको मूल्य, बन्यो नयाँ रेकर्ड


काठमाडौं । बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँले सुनको मूल्य बढेको छ । अघिल्लो दिन तोलामा २ हजार रुपैयाँ बढेको सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको थियो । आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँ पुग्यो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा एकैदिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३१०० डलर नाघेको छ ।
सुनसँगै ठूला सेयर बजारमा समेत वृद्धि देखिएको छ ।