कवाडी संकलनकर्ताको साइकल खोसेर अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कार्बाही


काठमाडौं । बालुवाटारमा कवाडी संकलन गर्न हिँडेका एक जना मजदुरको साइकल खोसेर अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कार्बाही गरिएको छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले विज्ञप्ति जारी गर्दै कवाडी संकलनकर्तालाई अमर्यादिन व्यवहार गर्ने नगर प्रहरीलाई कार्बाही गर्ने जानकारी दिएका हुन् ।
आज बिहान काठमाडौं महानगरपालिका–४ बालुवाटार क्षेत्रमा कवाडी संकलन गर्न हिँडेका एक जना मजदुरको साइकल नै खोसेर अमर्यादित ढंगले व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा नगर प्रहरीको आलोचना भएको थियो । सामाजिक सञ्जालमा आलोचना बढेपछि कवाडी संकलनकर्तालाई उनको साइकल फिर्ता दिइएको छ । उक्त कार्यमा संलग्न नगर प्रहरीलाई जिम्मेवारीबाट मुक्त गरेर आवश्यक कार्बाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको प्रमुख पाण्डेले जानकारी दिएका छन् ।
प्रमुख पाण्डेका अनुसार बालुवाटार क्षेत्रमा कवाडी संकलनकर्ताले बिहानैदेखि हल्ला गरेर हिँड्ने गरेको भन्दै स्थानीयले लिखित र मौखिक उजुरी दिएपछि नगर प्रहरीका इन्सपेक्टर शम्भु विष्टको टोली उक्त क्षेत्रमा खटिएको थियो । उक्त समयमा नगर प्रहरीले अमर्यादित तथा गैरव्यवसायिक ढंगले कार्य सम्पादन गरेको सामाजिक सञ्जालमा आएको देखिएकाले उनीहरुलाई कार्बाहीका लागि प्रक्रिया अगाडि बढाएको प्रमुख पाण्डेले बताए ।
