Ad Image

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा ‘रैथाने खाना महोत्सव’ सम्पन्न

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744797536.PNG

भोजपुर । मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धनका लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका चखेवामा रैथाने खाना महोत्सव सञ्चालन गरिएको छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर रैथाने खाना महोत्सव सञ्चालन गरिएको हो ।

 

महोत्सवमा टेम्केमैयुङ गाउँपालिकामा पाउने कोदो, फापर, गुन्द्रुक, भटमासको किनिमा भुटेको मकै, कुखुराको वाचिपा (तिते) लगायत परिकारसँगै स्थानीय उत्पादनको प्रदर्शनी गरिएको हो । त्यस्तै माछाको सुकुटी, पाहा, कोदोको मःम, कोदोको ढिडोको परिकारको पनि प्रदर्शनी गरिएको छ ।

 

स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणसँगै आउने पयर्टकले खान पाउने रैथाने खानेकुराको जानकारी दिने उद्देश्यका साथ रैथाने खाना महोत्सव सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । मुख्य रूपमा मुन्दुम पदमार्गमा आउने पर्यटकलाई यहाँको खानाको परिकारको विषयमा जानकारी दिन महोत्सव आयोजना गरिएको उपाध्यक्ष राईको भनाइ छ ।

 

गाउँपालिकाको संयोजन र पर्यटनमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा महोत्सव सञ्चालन गरिएको हो । महोत्सवले यहाँका स्थानीय उत्पादनको बजारीकरणसँगै स्थानीयवासीको जीविकोपार्जनमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई सफल बनाउन महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

 

चखेवामा रैथाने महोत्सव सञ्चालनले स्थानीयवासी उत्साहित भएका छन् । यहाँ आउने पर्यटकलाई लक्षित गरेर स्थानीय उत्पादनका परिकार खुवाउने होटल व्यावसायीहरूको भनाइ छ । पर्यकटलाई लक्षित गरेर नयाँ वर्षको अवसरमा दुई दिने महोत्सव सञ्चालन गरिएको हो ।