गोदावरी तिलेश्वरधाममा १२ वर्षे धार्मिक महोत्सव सुरु, शिव महापुराण महायज्ञको आयोजनासहित भव्य समारोह


ललितपुर । गोदावरी नगरपालिका–५ स्थित ऐतिहासिक तिलेश्वरधाममा १२ वर्षे धार्मिक महोत्सव–२०८२ सुरु भएको छ । तिलेश्वरधाम संरक्षण तथा सुधार समितिको मुख्य आयोजनामा, वडा नं. ५ कार्यालय तथा ज्ञानकुण्ड युवा क्लबको सहकार्यमा महोत्सवको शुभारम्भ गरिएको हो ।
तिलेश्वर महादेवको पूजा–आराधना तथा सम्पदा संरक्षणलाई प्रभावकारी बनाउँदै अक्षयकोष स्थापनालाई मुख्य उद्देश्यका रूपमा लिएको यस महोत्सवमा शिव महापुराण ज्ञान महायज्ञ समेत आयोजना गरिएको छ । यही वैशाख ३ गते, बुधबार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले एक भव्य समारोहबीच महोत्सवको उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहअघि प्रभातीर्थ टिकाभैरव र मनकामना मन्दिरबाट पञ्चेबाजा, नेवारी बाजा, भजन तथा पञ्चकलश जलसहितको शोभायात्रा निकालिएको थियो । कार्यक्रममा माननीय सांसद उदय शमसेर राणा र पूर्व सांसद नवराज शिलवालको समेत उपस्थिति थियो ।
महोत्सव अवधिभर प्रत्येक दिन यज्ञाचार्यद्वारा होम, प्रवचन, भजन–कीर्तन तथा आरतीको कार्यक्रम सञ्चालन हुनेछ । विदुषी शान्ति सुवेदी, आचार्य कपिलदेव सुवेदी लगायतका धर्मगुरुहरूद्वारा प्रस्तुत आध्यात्मिक प्रवचनहरूले भक्तजनहरूलाई आस्था र भक्ति सँग अझ नजिक बनाइरहेका छन् ।
यसै अवसरमा वैशाख ८ गते सामूहिक ब्रतबन्ध कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक कुमारहरूको नाम व्यवस्थापन समितिमा टिपाउनुपर्ने जानकारी आयोजकले दिएको छ । भक्तजनहरूले महायज्ञमा आफ्नो श्रद्धाअनुसार दान गर्न सक्नेछन् ।
महोत्सवमा सहयोग गर्ने दाताहरूलाई विभिन्न श्रेणीमा विभाजन गरी सम्मान गरिनेछ । रु. १,००० देखि दुइ लाख रुपैयाँसम्म दान गर्ने दाताहरूलाई शिवनामी, सम्मान–पत्र, चाँदीको फ्रेम र दोसल्ला ओढाएर सम्मान गरिनेछ भने रु. २ लाखभन्दा बढी सहयोग गर्ने दाताहरूलाई विशेष सम्मान प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
महायज्ञको समापन यही वैशाख १३ गते, शनिवार सम्पन्न गरिनेछ।
त्यस्तै, गोप्य दान गर्न चाहने भक्तजनका लागि दान–पेटिकाको व्यवस्था गरिएको छ भने अशक्त वृद्धवृद्धाहरूको तुलादानका लागि गाडीको व्यवस्था समेत गरिएको छ। तुलादानका लागि आवश्यक सिक्का मूल समितिबाट उपलब्ध गराइनेछ ।
यस महोत्सवले तिलेश्वरधामको धार्मिक र ऐतिहासिक महत्व उजागर गर्नुका साथै स्थानीय समुदाय र धार्मिक पर्यटकहरूलाई समेत आकर्षित गर्ने विश्वास गरिएको छ।