राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच शुक्रबार राष्ट्रपति निवासमा भेटवार्ता भएको छ ।
प्रचण्डको सचिवालयका अनुसार उक्त भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको हो । यद्यपि, छलफलको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
भेटका बेला के–के विषय उठान भए भन्ने स्पष्ट नखुलाइए पनि पछिल्ला दिनहरूमा मुलुकको आन्तरिक राजनीतिमा चुलिंदो तरंगबीच भएको यो भेटलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।
हाल दलहरूबीच देखिएको असमझदारी, सरकारको नेतृत्वको विषयमा चलिरहेका अड्कल र सत्तासमीकरणमा सम्भावित परिवर्तनको पृष्ठभूमिमा पौडेल–प्रचण्ड भेटलाई अर्थपूर्ण मानिएको छ ।
यसअघि पनि राष्ट्रपति पौडेलले विभिन्न राजनीतिक दलका नेताहरूसँग समय–समयमा परामर्श गर्दै आएका छन् । राष्ट्रपति कार्यालयले भने यस भेटबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।