Ad Image

सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुईदिने प्रशिक्षण

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746879345.PNG

डडेल्धुरा । सुदूरपश्चिमका एफएम रेडियोमा कार्यरत पत्रकारहरूको क्षमता विकाससम्बन्धी दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले आजदेखि डडेल्धुरामा प्रशिक्षण आयोजना गरेको हो ।


प्रशिक्षण शुभारम्भ गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले कार्यक्रमबाट बढीभन्दा बढी लाभ लिन सहभागीलाई आग्रह गरे । उनले प्रदेश सरकारले चाँडै सञ्चार विधेयकलाई निष्कर्षमा पुर्याउने गरी तयारी रहेको र त्यसले यहाँका सञ्चार समस्या व्यवस्थापनमा सहज हुने बताए । “सञ्चार विधेयकलाई चाँडै पास गर्नका लागि पत्रकारहरूसँग छलफल गरिरहेका छौँ, महासङ्घलाई पनि यसमा छलफल गरी रचनात्मक सुझाव दिन आग्रह गर्दछु”, मन्त्री सार्कीले भने ।  


सुदूरपश्चिम प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशीले एफएम रेडियो सङ्कटमा परिरहेकाले नयाँ प्रविधिसँगै अघि बढ्नुपर्नेमा जोड दिए । नेपाल र विशेष गरी सुदूरपश्चिमको भौगोलिक अवस्थाका कारण अझै पनि रेडियोको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले यस क्षेत्रको व्यवस्थापनका लागि सरकारको सहयोग जरूरी रहेको बताए ।

 

प्रशिक्षणमा प्रदेशका नौ जिल्लाबाट रेडियो प्रतिनिधिहरूको सहभागिता रहेको र यसले रेडियो व्यवस्थापन तथा बदलिँदो अवस्थामा पत्रकारिताबारे प्रशिक्षण दिइने  महासङ्घ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले जानकारी दिए ।