मेलम्ची र हेलम्बु क्षेत्रको पुनः निर्माण गर्छौं : मन्त्री खड्का


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनः निर्माणमा सरकार लागिपर्ने बताएका छन् । मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमन गर्दै उनले बाढी प्रभावित क्षेत्रको पुनः निर्माणमा सरकारले काम गर्ने बताएका हुन् ।
मन्त्री खड्काले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गरे । “बाढीपछिको हेलम्बु र मेलम्चीको पुनः निर्माणका लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडि बढौँ,” उनले भने । पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–भीमटारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने मन्त्री खड्काले बताए । पहाडी क्षेत्रमा कृषिको उत्पादनलाई बढवा दिन सिँचाइ व्यवस्थापन महत्त्वपूर्ण भएको उनी बताउँछन् ।
विसं २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको थियो । उक्त क्षेत्रको मन्त्री खड्काका साथै राज्यमन्त्री खमबहादुर गर्बुजा, सांसद मोहन बस्नेत, सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालगायतको टोलीले आज स्थलगत निरीक्षण गरेको हो । मन्त्री खड्कालाई स्थानीयले पुनः निर्माणको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।