कनकाई नगरपालिका बालमैत्री नगर घोषणाको तयारीमा


झापा । कनकाई नगरपालिका बालमैत्री नगर घोषणा गर्न विशेष कार्यक्रमको तयारीमा जुटेको छ । नगरको १२औँ स्थापना दिवसको अवसर पारेर बालमैत्री घोषणा गरिने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जनाएका छन् ।
सरकारद्वारा तोकिएको ५१ सूचकमा दुई स्थानीय सूचक थप गरी ५३ वटै मापदण्ड पुरा गरिसकेपछि नगर बालमैत्री घोषणा गर्न लागिएको हो । यो घोषणापछि कनकाई झापाको तेस्रो र कोसी प्रदेशको पाँचौँ बालमैत्री नगर बन्नेछ ।
नगरले यसअघि नै सुर्तीजन्य पदार्थमा प्रतिबन्ध र बन्द क्षेत्र घोषणा गरिसकेको छ । बालमैत्री घोषणाको उद्घाटन कोसी प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्कीले गर्ने कार्यक्रम तय गरिएको बाल कल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिए ।
उद्घाटनका अवसरमा विभिन्न समुदायका सांस्कृतिक झाँकीसहित भृकुटी माविबाट नगरसम्म र्याली निकालिनेछ । बाल सञ्जाल अध्यक्ष विजय तिवारीले बाल अधिकारको क्षेत्रमा समन्वय गर्दै कार्य गर्दै आएको जानकारी दिए ।
कार्यपालिकाले २०७९ माघ १८ गते बालमैत्री स्थानीय शासन कार्यान्वयनको निर्णय गरेको थियो । चार वर्षको प्रयासपछि नगर पूर्ण रूपमा बालमैत्री घोषणाको तयारीमा पुगेको हो ।