Ad Image

बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ: प्रधानमन्त्री ओली

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747053664.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षालाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन् । २६४९औँ बुद्धजयन्तीका अवसरमा आज स्वयम्भूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा उनले आफू पहिले प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्म क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि बताए । 

 

उनले बुद्धको जन्मका आधारमा २६४९औँ जन्मजयन्ती नै यथार्थ भएको र उनको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गरे । “बुद्धका शिक्षाहरू सरल र स्पष्ट छन् । विश्वमा शान्ति छाउनुपर्छ । 
 

बुद्धका शिक्षाहरू शान्ति, सत्मार्ग, मित्रता, सहिष्णुता, मित्रता, असल बानी आदि बुद्धका मुख्य शिक्षाप्रति अब हामी केन्द्रित भएर जानुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “बुद्धका महायान, थेरवाद र बज्रयानका ज्ञानलाई फैलाउने र बुझ्ने सवालमा केही फरक भए पनि बुद्धका मुख्य उपदेशहरूमा भिन्नता छैन । 
 

बुद्धका ज्ञानहरू विस्तारका क्रममा त्रिपिटक (विनयपिटक, सूत्रपिटक र धम्मपिटक)मा बाँढियो । पटना म्युजियममा भिक्षु आनन्दद्वारा लिखित त्रिपिटकका भोजपत्रका ठेलीहरू अहिले पनि सुरक्षित छन् । हामीले लुम्बिनीको संरक्षण र बुद्धका ज्ञानलाई विस्तारका कामहरू गर्दै जानुपर्ने छ ।”

 

प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, नेपालका लागि म्यान्मारका राजदूत र नेपालका लागि भारतीय दूतावासका प्रतिनिधिलगायतले बुद्धजयन्तीका अवसरमा शुभकामना दिएका थिए ।