रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर


काठमाडौं । गत चैत्र १५ गते तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ । नेपाल सरकार गृहमन्त्रालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा मिश्रको तर्फबाट सारिका कार्कीले मंगलबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।
प्रहरीले मिश्रमाथि राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान गरिरहेको छ। यसबीच उनको बयान समेत सकिसकेको तर पनि प्रहरीले हाजिर जमानीमा नराखेको मिश्र पक्षको भनाइ छ । यस रिटको पेसी बुधबारका लागि तोकिएको छ।
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ का सदस्य सचिवसमेत रहेका मिश्रलाई तीनकुने घटनामा संलग्न रहेको आरोपमा गत चैत १५ गते पक्राउ गरिएको हो । उनी ४६ दिनदेखि प्रहरी हिरासतमा छन्।