सुरक्षा निकायलाई गृहमन्त्रीको चेतावनी–३० दिनभित्र तस्करी रोक्नु, नभए मन्त्रालयले एक्सन लिन्छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा हुने तस्करी तत्काल रोक्न निर्देशन दिएका छन् । विराटनगरमा सुरु कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा बोल्दै गृहमन्त्री लेखकले ३० दिनभित्र अनुभूति हुनेगरी तस्करी रोक्ने काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
उनले भने, ‘तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ, मुलुकमा नकारात्मक असर गरेको छ । तस्करी तुरुन्त रोक्नुपर्छ, होइन भने गृह मन्त्रालयले अर्को एक्सन लिन्छ।’
गृहमन्त्री लेखकले शान्ति सुरक्षाको सवालमा राज्य कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारे। उनले शान्ति सुरक्षा हुँदा मात्रै देश विकास र आर्थिक सबलीकरण सम्भव हुने समेत बताए ।
लागुऔषध, सवारी दुर्घटना र आत्महत्याजस्ता घटनाले गम्भीर चुनौती खडा गरिरहेको भन्दै मन्त्री लेखकले प्रत्येक दिन सात जनाको ज्यान सवारी दुर्घटनामा जानु र १७ जनाले आत्महत्या गर्नु सामान्य नभएको बताए ।
गोष्ठीमा गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको सहभागिता छ।