सहिदका सपना अझै अधुरा छन्, हामी पूरा गर्छौं : प्रचण्ड


बागलुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौताको अधिकांश काम सम्पन्न भइसकेको र बाँकी कार्य चाँडै पूरा गर्ने बताएका छन् ।
‘जनतासँग माओवादी’ अभियानअन्तर्गत ताराखोलामा आयोजित कार्यक्रममा उनले जनयुद्धका सहिदलाई ‘राष्ट्रिय सहिद’ घोषणा गर्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका हुन् ।
दाहालले अर्गलमा निर्माण गरिएको सहिद तथा बेपत्ता पार्क उद्घाटन गर्दै सहिदको बलिदानीबाटै राजनीतिक परिवर्तन सम्भव भएको बताए । उनले सहिदका सपनाहरू अझै अधुरा रहेकाले त्यसलाई पूरा गर्न धैर्य गर्नुपर्ने बताए ।
उनले कांग्रेस र एमालेले बहुमतको घमण्डमा माओवादीको सरकार ढालेको आरोप लगाए । जनयुद्धलाई सामाजिक समावेशीकरणको लागि गरिएको विद्रोह भन्दै आलोचकहरूलाई ‘जाली र फटाहा’को संज्ञा दिए ।
ताराखोलामा ७४ लाख लागतमा सहिद पार्क निर्माण भएको छ भने ४० किमीको सहिदमार्ग अझै स्तरोन्नति हुन बाँकी छ । गाउँपालिकाले तीन वर्षदेखि सहिद परिवारलाई मासिक १ हजार भत्ता दिँदै आएको छ ।