भन्सार प्रमुख कुटपिट गर्ने धनगढी उपमहानगरका ४ नगर प्रहरी पक्राउ


कैलाली । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका चार जना नगर प्रहरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमवार बिहान नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नगर प्रहरीका प्रमुख समेत रहेका धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र नगर प्रहरी हवल्दार मणिदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहले जानकारी दिए ।
शनिवार राति कैलाली भन्सार कार्यालयभित्र प्रवेश गरेर प्रहरी निरीक्षक धामीसहितका नगर प्रहरीले भन्सार प्रमुख तिमिल्सिना माथि कुटपिट गरेका थिए । भन्सार प्रमुख तिमिल्सिनाले आइतबार उनीहरुविरुद्ध अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दिएपछि आज बिहान पक्राउ गरेको डिएसपी सिंहले बताए ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको समेत उनले जानकारी दिए ।
सडकमा रोपिएका बोटविरुवा संरक्षणका लागि लगाएको तारजाली कुनै गाडीले चुडाएपछि गाडी पत्ता लगाउने क्रममा नगर प्रहरी भन्सार कार्यालय पुगेको तर विवाद के विषयमा कसरी भयो भन्ने बारे सोधपुछ गरी अनुसन्धान गर्ने काम उपमहानगरबाट समेत भइरहेको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले बताए ।