Ad Image

किसानलाई यसरी प्रोत्साहन गर्दैछ काठेखोला गाउँपालिका

User Image मेयरसाप डेस्क | ५ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/suntala.PNG

बागलुङ । बिहुँका किसानले सुन्तला बिक्रीबाट मात्रै एउटा याममा मात्रै रु छ करोडभन्दा बढी भित्र्याउँछन् । काठेखोला गाउँपालिकाको दुई वटा वडामा फैलिएको सुन्तला बारीमा किसानको आफ्नै लगानी छ । 

किसानको निरन्तरको मेहनत, सरोकारवालाको चासो र सहयोगले सुन्तला निर्यात गर्ने र आम्दानी भित्र्याउने माध्यम बनेको छ । गाउँपालिकाले पनि प्रविधि र परम्परागत सीप दुवैको प्रयोगमार्फत निरन्तर आम्दानीको स्रोत बनाउने अभियान थालेको छ । 

किसानलाई बजारको चिन्ता पनि छैन । हरेक वर्ष यहाँ फल्ने सुन्तला बारीबाटै व्यवसायीले खरिद गर्दै आएको किसान गुरुप्रसाद कँडेल बताउँछन् । तर सुन्तालामा कीराको सङ्क्रमण भने समस्या रही आएको छ । यसका लागि गाउँपालिकाको सहयोगमा कीरा सङ्क्रमणबाट हुने क्षति कम गर्न आधुनिक प्रविधिको प्रयोगमार्फत उपचारात्मक र निरोधात्मक विधि अपनाइएको छ ।

बिहुँ–६ तल्लो बिहुँका १३ हजार सुन्तलाका बोटमा प्रोटिन बेट छर्न सुरु भएको छ । काठेखोला गाउँपालिका, हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, विवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत हेफर प्रोजेक्ट नेपालको रु १० लाख अनुदान सहयोग तथा स्थानीय कृषकको ५० प्रतिशत लागत साझेदारीमा तल्लो बिहुँमा रहेका १३ हजार फल दिने सुन्तलाका बोटमा लाग्ने औँसा कीरा नियन्त्रण गर्नका लागि बोटमा प्रोटिन वेट औषधि छर्ने काम सुरु भएको हो ।

किसानको बगैँचामा पुगेका गण्डकी प्रदेश कृषि मन्त्रालयका वरिष्ठ कृषि तथा बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले औँसा कीराका साथै सुन्तलामा देखिने विभिन्न प्रकारका रोगहरुको बारेमा दुई दिनसम्म कृषकलाई सहजीकरण गरेपछि यो अभियान सुरु भएको बताए। १० दिनको फरकमा १० हप्तासम्म प्रतिबोट ५० मिलिलिटर प्रोटिन वेट छर्दा सुन्तलालाई औँसा कीराको प्रकोपबाट जोगाउन सकिने उनको भनाइ छ । स्थलगत कार्यक्रमले प्रभावकारी काम देखिने र किसानलाई हौसला मिल्ने काठेखोलाका अध्यक्ष राजु थापाले बताए।

गतवर्ष औँसा कीरा र सुन्तलाको जरा कुहिने समस्याले बागलुङमा सुन्तला उत्पादन घटेको थियो । सुन्तला गाउँले परिचित सिगानामा सुन्तला उत्पादन वृद्धि भए पनि औँसाको प्रकोपले बिहुँमा सुन्तला उत्पादन घटेको थियो । वडाध्यक्ष वृहस्पति कँडेलले आफ्नो वडामा अभियानकै रुपमा प्रोटिन बेट छर्ने कार्यक्रम सञ्चालन गर्दै सुन्तला बगानको थप व्यवस्थापन गरी आर्थिक समृद्वमा पुग्न स्रोतको पहिचान गरिने बताए।

गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषण भत्ता वितरण गरेको छ । यो परम्परागत प्रविधि र सीपको संरक्षण गर्ने अभियान हो । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत एक सय ७८ हलगोरु पाल्ने किसानलाई पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो । परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आठ लाख ९० हजार पोषण भत्ता सो झै किसानको हातमा पुर्याइएको अध्यक्ष राजु थापाले बताए। गाउँपालिकाभरी रहेका सबै हलगोरुलाई अनुदान उपलब्ध गराइएको हो । 

काठेखोला गाउँपालिकाले किसानलाई प्रोत्साहनका लागि दूधमा अनुदान दिन थालेको प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले जानकारी दिए। पालिकाले आधुनिकीरणलाई अङ्गिकार गरेको छ । गाउँपालिका, वडाबाट आउने कार्यक्रम, पालिकाभित्र सङ्घ र प्रदेशबाट सञ्चालन हुने विभिन्न कार्यक्रममार्फत चार सय ७० वटा मिनी टेलर हलो किसानका घरमा पुर्याएका छन् । गोरु र मिनिटेलरको समिश्रणबाट किसानलाई जुन प्रविधि सजिलो र उपयुक्त लाग्छ उही प्रविधिले साथ दिने गरी काम भइरहेको कार्की बताउँछन् । 

यस्तै, निःशुल्क रूपमा पशुलाई औषधि वितरण र ९२ वटा गाईभैँसीको नस्ल सुधारका लागि कृत्रिम गर्भाधान गराइएको उनले बताए। पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रममार्फत अनुदान र पशुपंक्षी फार्म यन्त्रिकीकरणमा सहयोग गरिरहेको छ । रेशमा रैथानेबालीको संरक्षण, चिया खेतीको प्रवर्द्धनमा परम्परागत र आधुनिक दुवै प्रविधिको प्रयोग गरेको छ । नमूनाको रुपमा साना किसान सहकारीमार्फत लगाइएको चियालाई आम्दानी र पर्यटनसँग जोड्ने उद्देश्य रहेको वडाध्यक्ष प्रेमबहादुर लामिछाने बताउँछन्। 

काठेखोला–४ तंग्रामका किसानले परम्परागत रुपमा बाख्रा पाल्दै आएका हुन् । सहकारीमा आबद्ध किसानहरुले बजारीकरणको प्रबन्ध सहकारीबाटै गर्छन् । यहाँ पालिने बाख्रा रैथाने जातका बाख्रा हुन् । तर किसानले बाख्रा पाल्ने विधि भने बदलेका छन् । 

गाउँपालिकाले त्यही समूह, सहकारी र गैरसरकारी संस्थामार्फत किसानलाई आधुनिक खोर बनाउन सहयोग गरेको छ । विगतमा अनुमानका भरमा तौल गरिने खसीबोकाको तौल निकाल्न अहिले आधुनिक मेसिनले सहयोग गर्छ । आधुनिक खोरले रैथाने जातका बाख्रामा उत्पादन बढेको वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण पुन बताउँछन्।

धम्जाको आलु रैथाने बाली हो । आलुसँग अन्न साटेर यहाँका किसानले लामो समय गुजारा चलाएका कथा छन् । अहिले यहाँ रैथाने आलुसँगै आधुनिक बीउका आलु फल्छन् । हिउँदमा लगाएको आलु वर्षायाममा फसल लिएपछि एकै पटक बिक्री वा सटही नगरे आलु कैयौँ बेग्रल्ती घटना छन् । तर अहिले किसानलाई आलु कुहिने चिन्ता छैन । प्रदेश सरकारले यहाँ चिस्यान केन्द्र बनाइदिएको छ । त्यसको व्यवस्थापनमा वडाले सहयोग गर्छ । आलु बिक्री नहुँदा त्यही चिस्यान केन्द्रमा राख्न सकिने वडा नम्बर ३ का अध्यक्ष कुलबहादुर विक बताउँछन् ।

 पालिका, वडा र प्रदेश तथा सङ्घीय कार्यक्रममा रैथाने बाली, परम्परागत सीप र प्रविधिको संरक्षण तथा प्रवर्द्धन र आधुनिक प्रविधिको प्रयोग दुवै अपनाइएको गाउँपालिकाका सूचना अधिकारी मनोज कार्की बताउँछन् ।