बटेश्वर गाउँपालिकाको प्रसूति भवन चार वर्षदेखि अलपत्र

पालिकाले ठेकेदार कम्पनीलाई सम्झौताबाहिरको कामको भुक्तानी नदिएको भन्दै काम रोकिएको छ।

No Author Assigned | २०८१ भदौ १६ गते ०७:५३
Image of storage/news/1725187921.jpg

बटेश्वर गाउँपालिकामा निर्माणाधीन प्रसूति भवन (बर्थिङ सेन्टर) चार वर्षदेखि अलपत्र परेको छ। भवन निर्माणको काम सुरु भएको यतिका समय बित्दा पनि अझै पूरा हुन सकेको छैन। पालिकाले ठेकेदार कम्पनीलाई सम्झौताबाहिरको कामको भुक्तानी नदिएको भन्दै काम रोकिएको छ।

 

२०७६ जेठमा तत्कालीन पालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको पालामा निर्माण सुरु भएको यो भवन एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, आकृति निर्माण सेवा, काठमाडौंले ठेक्का पाएको यो भवन अझै अधुरो छ। कम्पनीले इस्टिमेटभन्दा बाहिर इँट्टाको भित्ता लगाएपछि भवन निर्माणमा समस्या आएको हो।

 

गाउँपालिकाले २०७७ जेठसम्म ४८ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरेको भए पनि बाँकी काम सम्पन्न गर्न बजेट छुट्याउन छाडिएको छ। नयाँ पालिका अध्यक्ष रामआशीष महतोले प्रसूति भवनप्रति चासो नदिएको आरोप लागेको छ। निर्माण पूरा नभएपछि पालिकाका महिलाहरूलाई चेकजाँच र प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कायमै छ।


Facebook Comments