Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम दिँदै अन्नपूर्ण गाउँपालिका

User Image मेयरसाप डेस्क | २०८२ जेठ ६ गते २१:०८
Image of https://mayorsap.com/storage/photos/10/a choya.PNG

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ नागीमा युवाहरुलाई चोयाका सामान बनाउने सीप सिकाउन थालिएको छ । 

मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत यही जेठ ५ गतेदेखि सुरु भएको तालिम २४ गतेसम्म सञ्चालन हुनेछ । 

तालिममा १७ जना सहभागी रहेको अन्नपूर्ण गाउँपालिकाका उद्यम विकास सहजकर्ता विष्णु गौतमले जानकारी दिए । तालिममा निगालो र बाँसको चोयाबाट डोका, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो, दाम्लो बुन्न सिकाइने उनले बताए । चोयाका सामान बनाउने सीप सिकाउन रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका अनिल पाइजालाई प्रशिक्षकका रुपमा ल्याइएको छ । चिमखोलाका बासिन्दामा निगालोबाट आकर्षक डोका बनाउने सीप छ । 

फ्लास्टिकका सामानका कारण प्रदूषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन सीप सिकाउन थालिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए। प्रति डोकालाई रु एक हजारदेखि दुुई हजार पाँच सय मूल्य पर्छ । 

गाउँमै रहेको कच्चापदार्थको प्रयोगबाट आत्मनिर्भर र वायु प्रदूषण घटाउने प्लास्टिकजन्य सामानको आयात घटाइ आयआर्जनको अवसर सिर्जना हुने उपाध्यक्ष तिलिजा पुनले बताए । 


Facebook Comments