Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

किसानलाई माटो परीक्षण गर्न सिकाउँदै पौवादुङमा गाउँपालिका

User Image मेयरसाप डेस्क | २०८२ जेठ १९ गते १२:४१
Image of https://mayorsap.com/storage/photos/10/mato.PNG

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिन किसानलाई माटो परीक्षणसम्बन्धी सीप प्रदान गरेको छ । गाउँपालिकाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा जोड्न २४ जना अगुवा किसानलाई माटो परीक्षणसम्बन्धी पाँच दिने तालिम प्रदान गरेको हो । 

तालिममा सहभागी किसानलाई माटो परीक्षण गर्ने तरिका, परीक्षण गर्नु अघि खेतबारीबाट माटो सङ्कलन गर्ने तरिका, बालीमा प्रयोग गर्ने बीउबिजन तथा विषादीको प्रयोग गर्ने तरिकालगायतको सीप सिकाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। 

तालिम लिएका अगुवा किसानले अब गाउँपालिकामा माटो प्राविधिकको रुपमा सेवा प्रदान गर्ने उनको भनाइ छ । आगामी आर्थिक वर्षमा सीप लिएकालाई माटो परीक्षणका लागि आवश्यकयन्त्र, उपकरण गाउँपालिकाले प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए । 

“किसान आफैं माटोसँग जानकार हुन सकुन् भन्नका लागि माटो परीक्षणसम्बन्धी सीप प्रदान गरेका छौँ”, उनले भने, “माटोको परीक्षण गरेर खेती गर्दाको फाइदाको विषयमा पनि जानकारी दिएका छौँ । तालिम लिएका अगुवा किसानलाई आगामी आर्थिक वर्षमा आवश्यक सामग्री पनि प्रदान गर्छौँ ।”

गाउँपालिकाले कृषिमा योजनाबद्ध रुपमा काम गरिरहेकाले किसानलाई माटोसम्बन्धी प्रयोगात्मक रुपमा ज्ञान प्रदान गर्ने लक्ष्यले माटो परीक्षणको सीप प्रदान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। 

गाउँपालिकाले मुख्य रुपमा अकबरे खुर्सानी खेतीसँगै माटो र हावापानी सुहाउँदो नगदेबाली खेतीमा जोड दिएकोले किसान आफैँले आवश्यक ज्ञान, सीप लिन सक्ने वातावरण तयार गर्न कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । “हामीले यहाँ योजनाबद्ध कृषिको विकासमा जोड दिएका छौँ”, अध्यक्ष राईले भने,“गाउँपालिकामा अकबरे खुर्सानीमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै खुर्सानीबाट गतवर्ष मात्र रु १८ करोड बराबर भित्रिएको छ । अन्यबालीको पनि व्यावसायिक खेतीमा किसान लाग्न सहजता प्रदान गर्न माटो परीक्षणको कार्यक्रम सञ्चालन गरेका हौँ ।” 

गाउँपालिकामा कृषि तथा पशुपक्षी सेवा केन्द्र भवन निर्माण भएकाले कृषिसम्बन्धी थप काम गर्न सहज भएको अध्यक्ष राईको भनाइ छ । 


Facebook Comments