Ad Image

६० किलो सुन तस्करी प्रकरण: १९ जना प्रतिवादीलाई ३५ दिनभित्र हाजिर हुन सूचना

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/adalat ktm.jpg

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेका प्रतिवादीहरूलाई ३५ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ। अदालतले सोमवार सूचना जारी गर्दै १९ जना प्रतिवादीहरूलाई ३५ दिनभित्र हाजिर हुन आउन भनेको हो । 

अदालतले सिन्धुपाल्चोकका राम गुरूङ, झापाका लेखनाथ कार्की डोली, दोलखाका कुमार भुजेल, दोलखाकै विकेन्द्र भुजेल, पर्वतका जिवनकुमार गुरूङ, काभ्रेका पाल्साङ लामा, बर्दियाका जिवन चलाउने, दोलखाका दिलिप भुजेल, उदयपुरका भिमबहादुर मगर र भारतका टासी शेर्पालाई हाजिर हुन आउन सूचना प्रकाशन गरेको छ। 

त्यसैगरी ६ जना चिनियाँ नागरिकहरू लुरोङ गोङ्बु, वाङ दाओजिङ, पेङ योङसिन, झोङ जियानहुवा, हेनेरी भन्ने झोङ जिङचुआन र पिङ लिङफेङविरुद्ध पनि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरुलाई पनि अदालतमा उपस्थित हुन भनिएको छ । त्यस्तै भारतीय नागरिकहरू अभिजित तानाजी मुलिक, माही भन्ने अगोल कलप्पा कुटे र कमलकान्त कुल्थियाविरूद्ध पनि पुर्जी जारी छ।

२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक–शुमा ६० किलो ७१६ ग्राम सुन भेटिएको थियो । २०८० भदौ ३१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फर्छ्यौट ऐन, नागरिकता किर्ते तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

सिआइबीले दोस्रो चरणको अनुसन्धानमा ४६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा २०८१ असार १८ गते मुद्दा दायर गरेको थियो। त्यतिबेला जम्मा २० जना पक्राउ परेका थिए। २६ जना फरार थिए।

यसबीचमा अहिले पक्राउ पुर्जी जारी भएका १९ जना बेपत्ता भएपछि अदालतले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको छ । ३५ दिनभित्र नआएमा अदालत फैसलाको प्रक्रियामा अघि बढ्ने बताइएको छ । उनीहरू तोकिएको समयमा उपस्थित नभए अरुको हकमा फैसला हुने र फरारको हकमा पछि निर्णय हुने बताइएको छ ।