प्रतिनिधि सभाको अवरोध हटाउन कांग्रेस र रास्वपाबीच छलफल


काठमाडौं । प्रतिनिधि सभा बैठकको अवरोध हटाउन सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच छलफल भइरहेको छ । गत जेठ १३ गतेदेखि निरन्तर अवरुद्ध हुँदै आएको संसद बैठक खुलाउन संसद् भवन नयाँ बानेश्वरमा दुई पार्टीबीच छलफल भइरहेको हो ।
छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा.स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।
यसअघि प्रतिपक्षी दलहरूको बैठक भएको थियो । प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको प्रतिबद्धता नआएसम्म सदन खोल्न नदिने बताउँदै आएका छन् । कांग्रेसले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सकेपछि अध्यागमनको काम कार्बाहीबारे छानबिन समिति बनाउन सक्ने बताएको छ । सत्तापक्ष र विपक्षीले आ–आफ्नो अडान नछोड्दा संसद बैठक चल्न सकेको छैन । आज दुई बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।