Ad Image

सिराहामा वन कार्यालय प्रमुखकाे मिलेमताेमा अवैध माटाे-ढुंगा उत्खनन्, ठेकेदारसँग लिन्छन् पैसा

User Image मुकेशकुमार यादव | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/utkhanann.jpg

सिराहा। सिराहामा पछिल्लो समय सामुदायीक वन तथा ऐलानी जग्गाहरुमा वनका कर्मचारीहरुकै सेटिङमा अवैध रुपमा ग्राभेल उत्खन्न् गर्ने गरेको पाइएको छ । ऐलानी तथा सामुदायीक वनका जग्गाहरुमा ग्राभेल माफियाहरुले रातिको समयमा वनका कर्मचारी तथा प्रहरी प्रशासनसँगको आर्थिक मिलेमतोमा ग्राभेल उत्खनन् गरिरहेको पाइएको हो ।

शुक्रवार राति गोलबजार नगरपालिका–२ मुक्सारबाट सामुदायीक वन तथा ऐलानी जग्गाहरुबाट अवैध रुपमा उत्खनन् भइरहेको अवस्थामा एक थान एस्काभेटर र एक थान टिपर वन कार्यालयले नियन्त्रणमा लियो । 

वन कार्यालयले नियन्त्रणमा लिएको एस्काभेटर र स १ त ८३६ नम्बरको टिपरलाई भोलि पल्ट बिहानै अनुसन्धान नै नगरि सव डिभिजन कार्यालय गोलबजार होहर्वाका कार्यालय प्रमुख आवेद हुसेनले छोडिदिएका छन् । 

कार्यालय प्रमुख हुसेनले ठेकेदारबाट मोटो रकम लिएर वनको जग्गालाई निजी जग्गा भन्दै जरीवानाका लागि मात्र समन्वय समितिमा चिठ्ठी पठाएका छन् । उनले ग्राभेल उत्खनन्को क्रममा पक्राउ गरेको एस्काभेटर र टिपरका धनि स्थानीय ठेक्केदार विजय साहसँग आर्थिक चलखेलगरी ऐलानी जग्गामा भएको उत्खनन्लाई निजी जग्गामा भएको झुठा कागज गरेर छोडेको स्थानीय बताउँछन् ।

ठेक्केदार साह विगत ७ वर्षदेखि यी क्षेत्रहरुका ऐलानी तथा सामुदायीक वनको जग्गाहरुबाट स्थानीय जनप्रतिनिधि तथा वन कर्मचारीहरुकै सेटिङमा प्राकृतिक स्रोतमाथि व्यापक दोहन गर्दै आएका छन् । रातिको समयमा अवैध रुपमा नदीजन्य सामाग्री चोरी भएको बारे सम्बन्धित निकायमा जानकारी गराउँदा समेत उत्खनन् नरोकिएको स्थानीय शिव थापा बताउँछन् । उनले भने, ‘राति उत्खनन् भइरहेको कुरा वन, स्थानीय प्रहरी र अन्य सम्बन्धित निकायका सबैलाई जानकारी गराउँदा समेत उत्खनन् बिना रोकटोक चलिरहेको छ । हिजो राति पनि नियन्त्रणमा लिएर छोडिएको गाडिको साहु विजय साहले वनका कर्मचारीलाई महिनावारी कै रुपमा रकम बुझाउने गरेका छन् ।’

पछिल्लो सात वर्षदेखि ग्राभेल माफियाहरुले यो क्षेत्रको करिब बिसौं बिघा जमिनबाट नियामक निकायकै मिलेमतोमा अवैध रुपमा प्राकृतिक स्रोत नै मासिने गरी व्यापक उत्खनन् गरेको स्थानीय राम प्रकाश यादवले बताए। उनले भने, ‘सिराहाका नियामक निकायका पदाधिकारी नै विकाउ भएपछि ग्राभेल माफियाहरुले यस क्षेत्रमा एक छत्रीय राज नै चलाएका छन्।’

यता, सोही विषयमा सव डिभिजन कार्यालय प्रमुख आवेद हुसेनलाई ऐलानीबाट उत्खनन् गरिरहेको अवस्थामा एस्काभेटर र टिपर समात्नु भएको हो भनेर प्रश्न गर्दा उनले स्थानीयको उजुरीका आधारमा एस्काभेटर र टिपर नियन्त्रणमा लिएको स्वीकार गरे तर निजी जमिन सम्याउने काम गरिरहेकाले छोडेको बताए । 

उनले भने, ‘ऐलानी वा निजी भन्ने यकिन गर्न सकिएन तर स्थानीयको भनाई अनुसार पक्राउ गरिएको एस्काभेटर र टिपर चाहिँ निजी जमिनमा माटो समस्याउने काम गरिरहेका थिए । टिपरमा लोड केहि थिएन र पनि हामीलाई स्थानीयले दबाब दिएपछि नियन्त्रणमा लिएका थियौं । तर भोलिपल्ट एक जना स्थानीयले मेरो जग्गा हो भनेर दाबी गरेकाले जरिवाना काट्न लगाएर गाडि छोडेका हौं ।’ 

तर, डिभिजन वन कार्यालयबाट आएका एक जना वनकै कर्मचारीले भने, ‘खेत सम्याउन टिपरको आवश्यकता पर्दैन । सव डिभिजनका प्रमुख जावेद हुसेनको दाबी झुठो हो । कार्यालय प्रमुख हुसेनले मोटो रकम लिएर ऐलानी जग्गालाई निजी बनाएको हो।’ ती कर्मचारीले यसमा सब डिभिजन प्रमुख हुसेनको सेटिङ रहेको दाबी नै गरेका छन् ।
 
यस क्षेत्रबाट व्यापक रुपमा वनको र ऐलानी क्षेत्रमा फडानी गरेर ग्राभेल उत्खनन भइरहेको सब डिभिजन कार्यालय चोहर्वा र इलाका प्रहरी कार्यालय मातहत मुक्सार प्रहरी चौकीमा पटक–पटक जानकारी गराउदाँ समेत समयमा प्रहरीहरु नआउनाले पनि  यीनीहरुको सेटिङ रहेको पुष्टि गर्छ। 

सिरहाको उत्तरी चुरे क्षेत्रमा हुने अवैध उत्खनन्ले स्थानीय दैनिक त्रसित भएर बाँच्न बाध्य छन् । उता सम्बन्धित निकाय नै सेटिङमा उत्खनन् गराइरहेका छन् ।