ईसीडी १ वर्षको बनाउन र एसईई प्रदेशस्तरमा गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बाल शिक्षा (ईसीडी) एक वर्षको बनाउन प्रस्ताव गरेको छ । शनिवार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षामन्त्री रघुजी पन्तले ईसीडी एक वर्ष बनाउन प्रस्ताव गरेका हुन् ।
दुई वर्षको बनाउँदा ३० अर्ब दायित्व बढ्ने भएको भन्दै एक वर्षको ईसीडीको प्रस्ताव गरिएको छ।
त्यसैगरी मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव पनि गरेको छ ।
कक्षा दश उतीर्ण पश्चात् विभिन्न शिक्षाका धारमा अध्ययन गर्न सक्ने भएकोले परीक्षा प्राणाली र मूल्यांकन मापदण्डमा एक रुपता कायम गर्न एसईई आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ । प्रस्तावमा कक्षा दशको अन्तिम परीक्षा एसईई हुने भनिएको छ । एसईई परीक्षा बोर्डको समन्वय र सम्बन्धित शिक्षा कार्यालयको संयोजनमा सञ्चालन हुने मन्त्रालयको प्रस्तावमा उल्लेख छ ।
त्यसैगरी मन्त्रालयले निजी विद्यालय शैक्षिक गुठी र कम्पनीमै स्थापना र संचालन गर्ने प्रस्ताव गरेको छ ।