टीकापुर नगरपालिकामा साढे १० करोड अनौपचारिक कारोबार


कैलाली । टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०८०\८१ मा कुल बजेटको १५ प्रतिशत अर्थात् १० करोड ६२ लाख रुपैयाँ कार्यपालिका बैठकको निर्णय नगरेरै सिधै खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन अनुसार बजेट निर्माण प्रक्रिया नअपनाई कार्यक्रम तर्जुमा नगरी, बजेट सीमा निर्धारण समिति विना, सभामा विवरण पेस नगर्दै सभालाई छलेर खर्च गरिएको हो ।
नगरपालिकाले खाना, खाजा र सभा सञ्चालनमा ५६ लाख, कार्यालय सामग्रीमा ६६ लाख खर्च गरेको छ । कागजातविहीन सामुदायिक अध्ययन केन्द्रलाई पाँच लाख, र सेतो कागजको भरपाईमा २८ लाख ३५ हजार रुपैयाँ भुक्तानी गरिएको छ, जसलाई अनौपचारिक कारोबार भनेर महालेखाले टिप्पणी गरेको छ ।
टीकापुर महोत्सवलगायत १२ संस्थालाई १८ लाख ५१ हजार रुपैयाँ अनुदान दिइएको छ भने एक आवमै १ करोड ४२ लाखको सोझै खरिद गरिएको छ । प्रतिस्पर्धाबाट भएका ठेक्कामा समेत ३६–४३ प्रतिशतसम्म रकम घटाइएको पाइएको छ ।
यता, सटर भाडा असुली नहुनु, पार्क शुल्कको हिसाब नदेखिनु, र नगरप्रमुखले आफैं तीन दिनभन्दा लामो भ्रमण स्वीकृत गर्ने जस्ता अभ्यासले आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको देखिएको छ ।
२०७३ सालमा स्थापना भएको नगरपालिकामा अझैसम्म आन्तरिक लेखा परीक्षण शाखा गठन नभएको उल्लेख छ । कुल बजेटमध्ये ६५.७९% चालु खर्चमा, र २४.४२% मात्र पुँजीगत क्षेत्रमा खर्च भएको पाइएको छ ।