गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २५४ जनाले लिए सेवा


सिरहा । सिरहाको गोलबजार नगरपालिका–१० को कार्यालय तथा भुमिजा हस्पिटल गोलबजारको संयुक्त आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गोलबजार १० स्थितको आधारभूत स्वास्थ्य सेवा केन्द्रले शनिबार आयोजना गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा महिला तथा पुरुषगरी जम्मा २ सय ५४ जनाले स्वास्थ्य परीक्षण गराएको हो। ।
स्वास्थ्य शिविरमा विभिन्न उमेर समूहका २ सय ५४ जना सेवाग्राहीले लाभ लिएका छन् । शिविरमा विशेष गरी महिलाको स्वास्थ्य परीक्षण, ओपिडी सेवा, विशेषज्ञ डाक्टरको परामर्श, मधुमेह तथा रक्तचाप जाँच, निःशुल्क औषधि वितरण लगायतका सेवा प्रदान गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख इन्द्रजित साहले जनाएको छ ।
गाउँ स्तरमै स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै समुदायलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको वडा नम्बर १० का अध्यक्ष उपेन्द्र मुखियाले बताए ।
स्वास्थ्यजस्तो महत्त्वपूर्ण विषयमा वडावासीको पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रम गरेको उनले बताए । वडाभरिका ज्येष्ठ नागरिक, विपन्न परिवार लगायतले लाभ लिएका उनी बताउँछन् । उनले भने, ‘वडाको आयोजनामा निःशुल्क शिविर आयोजना गरिएको थियो, जसमा बिरामीहरूलाई औषधी पनि निःशुल्क उपलब्ध गराइएको छ ।’
शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रादेशिक अस्पताल लहानमा कार्यरत डाक्टर कुसुम यादव, डाक्टर आनन्द साह र डाक्टर ध्रमेन्द्र यादव सहित ३ विशेषज्ञ र ११ जना स्वास्थ्यकर्मीसहित १४ जना उपचारमा संलग्न रहेको आयोजकले बताएको छ ।
कार्यक्रममा विभिन्न स्थानीय समाजसेवी र स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। गाउँमै प्राथमिक उपचार गराउन पाउँदा स्थानीयवासी हर्षित भएका छन्।