माओवादीले २ बुँदे सहमतिको नाममा विश्वासघात गर्यो : सन्तोष परियार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विश्वासघात गरेको आरोप लगाएका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परियारले माओवादीले अध्यागमन र भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेर प्रतिपक्षी दलहरूलाई ’झारो टार्ने’ शैलीको व्यवहार गरेको बताए ।
उनले सरकारले मानव बेचबिखनजस्तो गम्भीर विषयलाई हल्का रुपमा लिएको भन्दै गम्भीर असन्तुष्टि जनाए । “सुशासनका लागि हामीले उठाएका मागहरूलाई बेवास्ता गरिएको छ,” परियारले भने, “गृहमन्त्रीको राजीनामा हाम्रो अडान हो, यसबाट हामी पछि हटेका छैनौं ।”
रास्वपाले संसद् अवरुद्ध गर्दै पेस गरेको पाँच बुँदे मागलाई सरकारले सम्बोधन नगरेसम्म सदनको कामकाज अगाडि बढ्न नसक्ने चेतावनी पनि उनले दिए । “पाँच बुँदामा स्पष्ट सहमति र उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म हामी सदन चल्न दिन्नौं,” परियारले भने ।