Ad Image

मैवाखोला गाउँपालिकामा श्रमदानमार्फत काठेपुल निर्माण

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za pool.jpg

ताप्लेजुङ । मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला–४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको सहभागितामा श्रमदान अभियानमार्फत पुल निर्माण थालिएको पालिका कार्यालयले जनाएको छ । करिब रु तीन लाख ५० हजार बराबरको श्रमदान गरेर नेरुवाखोलामा काठे मोटरेवल पुल निर्माण हुने अध्यक्ष वनेमले जानकारी दिए । 

पुल बनाउँदा प्रयोग हुने भ्याकु लोडर(मेसिन), ट्र्याक्टर र तारजाली गाउँपालिकाले उपलब्ध गराउने छभने अन्य आवश्यक सामग्री सबै श्रमदानमार्फत जुटाइने उनले बताए । वनेमका अनुसार माङमाया खोलामा रु एक लाख ५० हजार बराबरको श्रमदानमार्फत अस्थायी मोटरेवल पुल निर्माण भइरहेको छ । 

वर्षाको समयमा स्थानीयलाई आवागमनमा समस्या हुने भएकाले काठेपुल निर्माण गर्न थालिएको अध्यक्ष वनेमले उल्लेख गरे । सवारीसाधानसहित पैदल यात्री सहज रूपमा आउजाउ गर्न मिल्नेगरी अस्थायी काठेपुल निर्माण गर्न लागिएको उनको भनाइ छ ।

काठेपुल निर्माण गर्न सो क्षेत्रका स्थानीय नागरिक, टोल विकास संस्था, युवालगायत सहभागी भएर पालिकाले विगतदेखि श्रमदान अभियान सञ्चालन गर्दै आएको छ ।