राप्रपाले भन्यो– विरोधकाबीच संसद् चलाउनु दादागिरी हो


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभामा चलिरहेको अवरोधको बेवास्ता गर्दै संसद् सञ्चालन गरेको भन्दै सभामुख देवराज घिमिरेमाथि प्रश्न उठाएको छ ।
रास्वपा र राप्रपाका सांसदहरूले संसद्मा विरोध जनाइरहेका बेला सभामुखले प्रतिनिधिसभाको बैठक अघि बढाएपछि राप्रपाले आपत्ति जनाएको हो । रास्वपाका सांसदहरू गृहमन्त्रीको राजीनामाको माग गर्दै रोष्टम अगाडि नाराबाजी गरिरहेका छन् भने राप्रपाका सांसदहरू आ–आफ्नो सिटमै उभिएर विरोध जनाइरहेका थिए ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो अवस्थामा संसद् सञ्चालन गर्नु गलत रहेको तर्क गरे । “सांसदहरू आन्दोलनरत छन्, यस्तोमा संसद् चलाउनु कत्तिको उचित हो ? यो दादागिरी होइन र ?” उनले प्रश्न गरे ।
शाहीले जनताबाट निर्वाचित सांसदहरूबीच समान व्यवहार हुनुपर्ने माग गर्दै सभामुखको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे । “संसदीय अभ्यासमा यस्तो देखिँदैन, सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ,” उनले भने ।