माओवादीले कुनै सौदाबाजी गरेको छैन : उपमहासचिव पुन


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरण संसदमा उठाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहकार्य गरेको स्मरण गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पुनले सत्तापक्षसँग संवादपछि छानबिनको प्रतिबद्धता आएपछि माओवादी केन्द्र सदन चलाउन तयार भएको बताएका हुन् ।
उनले भने, “रास्वपासहित प्रतिपक्षी दलहरूले नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामाको माग गरेका थियौं। अहिले सरकारले एक महिनाभित्र छानबिन गर्ने प्रतिबद्धता जनाएको छ, त्यसपछि हामी सदनमा फर्कियौं।”
रास्वपालाई पनि सहमतिमा ल्याउन आफूहरूले आग्रह गरेको पुनले बताए। गृहमन्त्रीको राजीनामा माग, अख्तियारद्वारा निष्पक्ष छानबिन, र नीतिगत सुधार नै मुख्य विषय रहेको उल्लेख गरे ।
साथै, उनले माओवादीले कुनै सौदाबाजी गरेको छैन भन्दै अग्नि सापकोटाकाे मुद्दा र सदन खुलाइनु कुनै सम्बन्ध नरहेको प्रष्ट पारे । सत्तापक्ष संयमित हुनुपर्ने र सभामुखले संवादको वातावरण बनाउनु पर्नेमा पनि उनले जोड दिए ।