Ad Image

पचरौता छोटी भन्सार पुन:सञ्चालन गर्न स्थानीयको माग, जनप्रतिनिधिले थाले पहल

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pachrauti-chhoti-bhansar.jpg

संजय तिवारी/बारा । बाराका विभिन्न स्थानमा स्थापना भएका छोटी भन्सार कार्यालयहरू लगभग बन्द छन् । सिम्रौनगढ, कबाहीगोठ, पचरौता, मटिअर्वा लगायतका छोटी भन्सारहरु बन्द हुँदा त्यस भेगका नागरिकलाई समस्या मात्र नभई समग्र जिल्लामै भारतसँगको द्विदेशिय आर्थिक गतिविधि ठप्प छ। 

खुल्ला सिमाना भनेको खुसी ल्याउने सिमाना भनिने गरिएको छ, तर सरकारको बेवास्ताले त्यहाँका नागरिक सेवाबाट वञ्चित मात्रै नभई पीडित भएको पाइएको छ । सीमापार व्यवसाय सरल गर्न स्थापना भएका ती छोटी भन्सार कार्यालयहरू विभिन्न कालखण्डमा बन्द भएपछि त्यसलाई पुन:सञ्चालन गर्न कयौँ प्रयास भएपनि संचालनमा नआउँदा जिल्लाका करिब ८ लाख जनता प्रभावित भएको अनुमान गरिएको छ। 

बारा जिल्लाको मध्य/दक्षिणमा पर्ने पचरौता नगरपालिका वडा नं. १ पिपरपाती बजर्वा टोला र भारतको बढर्वा भन्ने सिमानाबीच रहेको छोटी भन्सार कार्यालयको आफ्नै भवन छ। कयौँ दशकअघि स्थापित उक्त भवन अहिले जीर्ण अवस्थामा पुगेको छ। माओवादी द्वन्द्वका बेला बन्द भएको कार्यालय देशमा लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा समेत पुनस्संचालनमा ल्याउन सकिएको छैन। 

करिब तीन दशक अघि कार्यालयको पियनका रुपमा काम गरेका स्थानीय विश्वनाथ महतो कोईरिले भन्सार कार्यालय बन्द भएपछी पारीबाट घरखर्चको सामान ल्याउन पनि करिब २५ किलोमिटर टाढा पर्ने सदरमुकाम कलैया पुग्नु पर्ने अवस्थाको बारेमा सम्झिए ।

‘उ बेला बाटोघाटो थिएन, अहिलेको जस्तो चारैतिर बजार समेत थिएन।’ कुश्वाहाले भने, ‘अहिले पनि आवश्यक सामान खरिद गर्न वा बिहेवारीमा चारचक्के सवारीसाधन पारी लग्न ८ किलोमिटर टाढाको नाका प्रयोग गर्नुपर्ने बाध्यता छ ।’

भन्सार कार्यालय बन्द भएपछि सरसामानको भन्सार गर्ने काम मात्रै बन्द नभई सवारी ईन्ट्री तथा त्यसको सञ्चालन अनुमति समेत बन्द भएको कुश्वाहाले बताए । अब भने उक्त कार्यालय सञ्चालनमा ल्याउनुपर्ने उनले माग गरे। कुश्वाहाले नाका संचालन नहुँदा नजिकै रहेको जयमुक्ती नगर रेल्वे स्टेशनबाट यात्रुले सुविधा पाउन नसकेको पनि बताए।

स्थानीयहरुको लाईफलाईनको रुपमा रहेको सो भन्सार सञ्चालन गर्न स्थानीय सरकार पनि कस्सिएका छन् । पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैस्वारले भन्सार कार्यालय सञ्चालन गर्न आफूले अर्थ मन्त्रालयमा कुरा गरिसकेको र त्यहाँबाट पालिकाको अफिसियल पत्र माग भएको बताए । 

‘मैले अर्थ मन्त्रालयमा भन्सार कार्यालय पुनस्संचालनका लागी कयौं पटक कुरा गरे, अहिले त्यसको विस्तृत विवरण सहित प्रस्ताव माग गरिएको छ।’ नगर प्रमुख जैस्वारले भने, ‘आजभोलिमै चिट्ठी पठाउँछौं र अर्को आर्थिक वर्षभित्र भन्सार कार्यालय संचालन गर्न दवाव दिनेछौं।’ नगर प्रमुख साहले भन्सार कार्यालय सञ्चालन भएपछि यस क्षेत्रको आर्थिक गतिविधि राम्रो हुने आशा व्यक्त गरे।

यता भन्सार कार्यालय अवस्थित रहेको पचरौता नगरपालिका वडा नं.१ का अध्यक्ष विनय सिंहले वर्षौंदेखि बन्द रहेको छोटी भन्सार सञ्चालन भएपछि वडाका करिब १२ सय घर धुरी मात्रै नभई पचरौता नगरपालिका र आसपासका लाखौं नागरिकहरुलाई सुविधा पुग्ने बताए।