वालिङ नगरपालिका–१० का वडाध्यक्ष खनालले कुटे आँधी खोला संरक्षणका अभियन्ता


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालसहितको टोलीले आँधी खोला संरक्षण अभियानका दुई अभियन्तामाथि रड प्रहार गरेका छन् । वडाध्यक्ष खनालसहितको टोलीले वालिङ नगरपालिका–९ स्थित सुर्कौदीमा अभियान्ता दिनकर नेपाल र मेघ आलेमाथि रड प्रहार गरेका हुन् ।
रड प्रहारबाट आफ्नो हातमा गम्भीर चोट लागेको अभियान्ता नेपालले जानकारी दिए । ज्यान मार्ने उदेश्यले टाउकोमा रड प्रहार गरेको र त्यो समयमा आफूले हेलमेट लगाएको हुनाले बाँच्न सफल भएको उनले बताए । वडाध्यक्षले रडले प्रहार गर्दा प्रतिकार गर्ने क्रममा नेपालको हातमा चोट लागेको हो । रड प्रहारबाट नेपालको हेलमेटको सिसा फुटेको छ ।
वडाध्यक्षले आफूहरुलाई पहिलाबाट नै धम्की दिँदै आएको हुनाले असुरक्षा महसुस गरी आज आँधीखोला दोहनको विरोधमा नदी संरक्षण अभियान घोषणा गरेर प्रहरीकोमा निवेदन दिन जाने क्रममा बीच बाटोमै आक्रमण गरेको अर्का अभियन्ता आलेले बताए ।
बाटोमा वडाध्यक्ष खनाल र एक जना त्यहाँको स्थानीय मिलेर सबैको अगाडि नै आफूहरुमाथि गुण्डागर्दी शैलीमा एक्कासी रड प्रहार गरेको उनले सुनाए ।
अहिले आफूहरु उपचारको क्रममा रहेको र त्यसपछि रड प्रहार गर्ने वडाध्यक्ष खनालमाथि कारवाहीका लागि प्रहरीमा निवेदन दिने उनीहरुले बताएका छन् । अभियान्ता नेपाल र आले रास्वपाका नेता समेत हुन् भने खनाल भने नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।