साइबर ब्यूरोले पत्रकार पाठकलाई भन्यो– तपाईँमाथि पक्राउ अनुमति छ, यथाशिघ्र उपस्थित हुनु


काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले पत्रकार दिलभूषण पाठकलाई यथाशिघ्र उपस्थित हुन भन्दै सूचना जारी गरेको छ । पीडित ‘साइबर ब्यूरो ५९’को जाहेरीले सरकार प्रतिवादी भएको विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसुरमा पक्राउ अनुमति प्राप्त भएकाले मंगलबार सूचना जारी गर्दै ब्यूरोले पाठकलाई आफैँ उपस्थित हुन अनुरोध गरेको हो ।
सार्वजनिक सूचनामा पाठकलाई साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न भनिएको छ । पाठकले काठमाडौँको पाँच तारे होटल हिल्टनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरको लगानी रहेको विषयमा भिडिओ रिपोर्ट प्रशारण गरेका थिए। यसै विषयमा देउवा परिवारले साइबर ब्यूरोमा उजुरी दिएको थियो ।
सोमबारमात्रै उच्च अदालत पाटनले दिलभूषण पाठकलाई ‘कानुनबमोजिम बाहेक धरपकड नगर्न’ प्रहरीलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेशका लागि छलफल गर्न अदालतले असार ५ गते (बिहीबार) दुवै पक्षलाई बोलाएको छ।