इरानलाई ट्रम्पको चेतावनी– शान्तिको बाटोमा नआए अझै ठूला हमलाको सामना गर्नुपर्छ


काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान शान्तिको बाटोमा आउनु पर्ने बताएका छन् । अन्यथा आगामी दिनमा अझ ठूला हमलाको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । इरानका आणविक क्षेत्रमा आक्रमण गरेपछि राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्पले अझ धेरैवटा लक्ष्यमा हमला गर्न बाँकी नै रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘अब इरानले शान्तिको बाटो अपनाउनु पर्छ। यदि उसले त्यसो गरेन भने भविष्यमा हुने आक्रमण अझ ठूला हुनेछन्।’ सम्बोधनका क्रममा ट्रम्पले इरानका आणविक केन्द्रहरूमा गरिएको अमेरिकी सैन्य आक्रमणलाई ‘एक अद्भूत सैन्य सफलता’ भएको बताए ।
उनले भने, ‘म संसारलाई भन्न चाहन्छु– आज रातिको आक्रमण पूर्ण रूपमा सफल भएको छ।’ उनले इरानका मुख्य आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको बताए। अमेरिकाले इरानको फोर्दो, नातान्ज र इस्फहानमा आक्रमण गरेको हो।
ट्रम्पले इरानलाई चेतावनी दिँदै अगाडि भनेका छन्, ‘अब कि शान्ति हुनेछ कि इरानमा विपत्ति आउनेछ, जुन पछिल्लो आठ दिनमा देखिएका घटनाभन्दा धेरै ठूलो हुनेछ।’ सम्बोधनमा उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र इजरायली सेनालाई धन्यवाद पनि दिएका छन्।
अमेरिकाले गर्यो इरानको आणविक केन्द्रमा आक्रमण, ट्रम्पले दिए सेनालाई बधाई