संसद्मा रास्वपाको नाराबाजी जारी, सभामुखले अघि बढाए बैठक


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पुनः रोस्टम घेर्दै नाराबाजीमा उत्रिएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले बैठक अवराेध जारी राखेको हो ।
रास्वपाको नाराबाजी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सदन बहिष्कारबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाए । उनले विनियोजन विधेयकअन्तर्गत युवा तथा खेलकुद, महिला तथा ज्येष्ठ नागरिक, सहरी विकास, अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयसम्बन्धी छलफल सञ्चालन गरेका छन् ।
छलफलका लागि ८ जना सांसदको नाम टिपाइएको छ। रास्वपाका सांसद असिम साहले गृहमन्त्रीको राजीनामा माग दोहोर्याउँदै आफूहरूको एक्लोपनलाई कमजोरी ठान्न नहुने चेतावनी दिए ।
यता, राप्रपाका सांसद धवल शमशेर राणाले चैत १५ को आन्दोलनमा राज्यले नै हिंसा मच्चाएको आरोप लगाउँदै मञ्चमै अश्रुग्यास प्रहार भएको गुनासो गरे । यद्यपि सत्तापक्ष र सभामुखको अडानले सदनको कार्यसूची भने रोकिएको छैन ।