म्याग्दीको बेनी खेलमैदान विस्तार गरिँदै, प्यारापिट निर्माण पनि तीव्र


म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित खेलमैदानको क्षेत्रफल विस्तार गरी दर्शक बस्ने प्यारापिट निर्माणको काम अघि बढाइएको छ ।
खेलमैदानको कालीगण्डकी नदीतर्फको किनारमा पर्खाल उठाएर मैदान चौंड्याइँदै चार तहको २० मिटर लामो प्यारापिट निर्माण गर्न कस्तुरी कन्स्ट्रक्सनसँग १९ लाख ९३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो ।
बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा नगरपालिकाले रु २५ लाख र सङ्घीय सरकारले रु २० लाख बजेट विनियोजन गरेर प्यारापिट निर्माणलाई अगाडि बढाइएको हो। सङ्घीय सरकारको अर्को योजनामार्फत थप १५ मिटर प्यारापिट निर्माणका लागि उपभोक्ता समितिमार्फत सम्झौता भइसकेको छ ।
यसअघि मैदानको लम्बाइ ९७ मिटर थियो भने गत वर्ष बेनी भगवती मन्दिरको पर्खाल तीन मिटर पछाडि सारेर लम्बाइ १०० मिटर पुर्याइएको हो । मैदानको चौडाइ पनि ३८ मिटरबाट बढाएर हाल ४५ मिटर बनाइएको छ ।
खेलमैदान विस्तारका क्रममा म्याग्दी र कालीगण्डकी नदीको दोभान क्षेत्रमा पर्खालसहित प्यारापिट निर्माण, मलामी घर, सार्वजनिक शौचालय, मन्दिर परिसरको पर्खाल सार्ने कार्य सम्पन्न भएको वडाध्यक्ष श्रेष्ठले बताए ।
‘बेनी मिनि रङ्गशाला’ का रूपमा परिचित यो खुला मञ्च म्याग्दीको प्रमुख खेलस्थल मात्र नभई सांस्कृतिक, धार्मिक तथा सामाजिक कार्यक्रमहरूको केन्द्रबिन्दु पनि हो ।
सन् २०५१ मा तत्कालीन सांसद निल पुनले रु एक लाख विनियोजन गरेर सुरु गरिएको यो आयोजनालाई पूर्णता दिन पछिल्ला दुई आर्थिक वर्षमा नगरपालिकाले क्रमशः ५०–५० लाख बजेट विनियोजन गरेको थियो ।
डिपिआर अनुसार मैदानलाई पूर्ण रङ्गशालाका रूपमा विकास गर्न करिब नौ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अहिले ९\९ जनाको फुटबल खेलाइने मैदान विस्तार भएसँगै अब ११\११ जनाको खेलसमेत सहज रूपमा सञ्चालन गर्न सकिनेछ ।