संसद भवनको क्यान्टिनबाट खस्दा एक जना कामदार घाइते


काठमाडौं । संघीय संसद भवनको क्यान्टिन मर्मतका क्रममा एक जना कामदार २० फिट उचाइको छतबाट खस्दा घाइते भएका छन् ।
आईतबार दिउँसो क्यान्टिनको छानोमा रहेको फल्स सिलिङ मर्मत गर्दै गर्दा काभ्रे, धुलिखेलका २८ वर्षीय दिपेश तामाङ खसेर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
घटनामा तामाङको छाती, टाउको, बायाँ हात र शरीरका अन्य भागमा चोट लागेको छ । उनलाई तत्काल सांसद तेजुलाल चौधरीको गाडीमार्फत सिभिल अस्पताल लगिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
क्यान्टिन व्यवस्थापक नेत्र शाहीका अनुसार छानोबाट पानी चुहिन थालेपछि मर्मतको काम भइरहेको थियो । त्यसै क्रममा दुर्घटना भएको हो ।
हाल तामाङको उपचार सिभिल अस्पतालमा भइरहेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।