आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र एचसीसीएनबीच सहकार्य अपरिहार्य : अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) का डिन चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति अझ प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकारले एचसीसीएनसँग बलियो सहकार्य गर्नुपर्ने बताएका छन् ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा चन्द्रागिरीमा आयोजित ‘नेपालको निर्यात व्यापारः अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै अध्यक्ष ढकालले नेपालले विश्वका ६६ देशका अवैतनिक वाणिज्यदूतहरूको प्रभावकारी उपयोग गरी आर्थिक समृद्धिमा टेवा दिन सक्ने उल्लेख गरे ।
“राज्यले अनररी कन्सुलर कर्पसलाई केवल औपचारिक अवैतनिक दूतका रूपमा होइन, आर्थिक कूटनीतिज्ञको रूपमा व्यवहार गर्नुपर्छ,” ढकालले भने, “उनीहरूले सरकारको खर्च बिना आफ्नो स्रोत, समय र सञ्जाल प्रयोग गरेर नेपाललाई प्रवद्र्धन गर्दै आएका छन्।”
उनका अनुसार व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यमा वाणिज्यदूतहरू पहिल्यैदेखि सक्रिय छन् र संकटका बेला उनीहरू प्रतिनिधित्व गर्ने मुलुकले दिएको सहयोगले भविष्यमा सहकार्यलाई अझ मजबुत बनाउन सकिन्छ ।
परराष्ट्र मन्त्रालयले हालै गठन गरेको आर्थिक कूटनीति विभागको स्वागत गर्दै ढकालले यसले सरकार, निजी क्षेत्र, अनररी कन्सुलर कर्पस् र कूटनीतिक निकायबीचको सहकार्यलाई संस्थागत बनाउने विश्वास व्यक्त गरे ।
“आर्थिक कूटनीति केवल व्यापारसम्म सीमित छैन, यो रोजगार, प्रविधि हस्तान्तरण, ब्राण्डिङ र पर्यटनजस्ता क्षेत्रमा पनि जोडिन्छ,” उनले भने ।
नेपालको कुल गार्हस्थ उत्पादनको ८१ प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई आर्थिक सहयोग होइन, सम्मान, पहिचान र निर्णय प्रक्रियामा स्थान चाहिएको स्पष्ट गर्दै ढकालले सरकारसँग नीतिगत समन्वयको आवश्यकता औंल्याए ।
प्रधानमन्त्रीको भारत, चीन र यूएई भ्रमणका क्रममा आयोजित व्यापार सम्मेलनहरूलाई सफल कदमको रूपमा व्याख्या गर्दै अध्यक्ष ढकालले आगामी दिनमा आर्थिक कूटनीति विभागको सहकार्यमा अझ व्यवस्थित र प्रभावकारी कार्यक्रमहरू आयोजना गर्न सकिने विश्वास व्यक्त गरे ।