Ad Image

निर्वाचन प्रणाली बदल्नुपर्ने सांसदहरूको सुझाव

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za sansad1.jpg

काठमाडौं । प्रतिनिधिसभाको विनियोजन विधेयक, २०८२ अन्तर्गत आजको बैठकमा विभिन्न सांसदहरूले निर्वाचन प्रणालीमा सुधारको माग गर्दै बजेट वितरणका नाममा भइरहेको विकृति, अपारदर्शिता र जनताको करको दुरुपयोगप्रति गम्भीर आपत्ति जनाएका छन् ।

सांसद महेन्द्र शाहीले वर्तमान निर्वाचन प्रणालीले सुशासनमा बाधा पुर्याएको भन्दै नयाँ स्वरूपको प्रणाली अपनाउनुपर्ने धारणा राखे । उनले वार्षिक पुँजी वृद्धि कसरी गर्ने भन्नेमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिँदै अर्थमन्त्री केवल राजस्व बाँड्ने भूमिका नखेल्नुपर्ने बताए ।

त्यसैगरी, सांसद प्रकाश ज्वालाले सहरी विकास मन्त्रालयलाई विचौलियाको कमाइ खाने माध्यमको रूपमा प्रयोग गरिएको आरोप लगाए । उनले गणेशमान सिंहको नाममा ५७ करोड बजेट विनियोजन गरेर नेताको योगदानको अपमान गरिएको बताए । त्यस्तै, पुष्पलालका नाममा मात्र ७० लाख बजेट छुट्याइएको भन्दै उनले जनताको करको दुरुपयोग भएको टिप्पणी गरे ।

कर्णाली प्रदेशमा बनाइएका खेलकुद संरचना प्रयोगमै नआएको उल्लेख गर्दै उनले प्रविधिमैत्री कानुनको अभावमा विकास निर्माणमा ढिलाइ भइरहेको जनाए ।

सांसद रञ्जुकुमारी झा र अब्दुल खानले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष जिम्मेवारी दिनुपर्ने, नियुक्त सल्लाहकारको सङ्ख्या कटौती गर्नुपर्ने, र युवालाई उद्यमशीलतामा जोड्ने स्पष्ट नीति आवश्यक रहेको सुझाव दिए ।

पठाओ, इनड्राइभ, यङ्गुल जस्ता प्रविधि–आधारित सवारी प्लेटफर्महरूले युवालाई रोजगारी सिर्जना गरिरहेकाले तिनलाई कानुनी रूपमा व्यवस्थित गर्नुपर्ने उनीहरूको भनाइ थियो । साथै, युवा लक्षित ‘विकास निर्माण आर्मी’ गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको थियो ।