पशुपतिमा शवदाह मेसिन खरिद प्रकरणमा १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषमा विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जना व्यक्ति र २ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले आइतबार १० करोड ३३ लाख रुपैयाँ बिगो मागदाबी गर्दै आरोपपत्र पेश गरेको हो । अख्तियारका अनुसार कोषका तत्कालीन सदस्य सचिव राजुकुमार खत्री, कार्यकारी निर्देशक डा.घनश्याम खतिवडालगायतले आपसी मिलेमतोमा अनियमितता गरेका थिए ।
अनुभव नभएको परामर्शदाता कम्पनी ‘एप्पल इन्जिनियरिङ’ लाई फर्जी कोटेसनमा जिम्मा दिइएको, भारतीय मेसिनको लागत ३२ लाख मात्रै भए पनि १ करोड ५२ लाख देखाइएको, ‘म्याप इन्टरप्रेन्योर्स’ नामक कम्पनीलाई मात्रै मिल्ने गरी प्रतिस्पर्धा अवरुद्ध गरिएको र १ करोड ८२ लाख पेस्की दिइएको आयोगको दाबी छ ।
सम्झौता विपरीत कम गुणस्तरको मेसिन जडान गरिएको र काम सम्पन्न नहुँदै भुक्तानी गरिएकोसमेत उल्लेख छ । ठेक्का तथा पेस्की जमानत म्याद सकिँदा पनि कुनै कानुनी प्रक्रिया नथालेको आयोगले जनाएको छ ।