Ad Image

हेटौंडा उपमहानगरपालिकामा ९ वटा विद्यालय लक्षित ‘मेघा किचन’ सञ्चालन

User Image राजन दहाल | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/p2.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका ९ वटा विद्यालयलाई लक्षित गर्दै दिवा खाजाका लागि ‘मेघा किचन’ सञ्चालनमा ल्याइएको छ । विद्यार्थीको दिवा खाजा व्यवस्थापनलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाको ६, १६, १७, १८ मा रहेका ९ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘मेघा किचन’ सञ्चालनमा ल्याइएको हो ।

हेटौंडा–१७ मा रहेको बालबोध माविमा किचन सञ्चालन भइ खाजा वितरण हुने हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको छ । संघिय सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा देशका सबै प्रदेशमा ‘मेघा किचन’को व्यवस्थापन गरेपनि बागमती प्रदेशको हेटौंडाबाट खाजा वितरणको काम अघि बढेको हो ।

खाजा वितरणका लागि बालबोध माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप अर्यालको अध्यक्षतामा मेघा किचन व्यवस्थापन समिति गठन गरेर कामलाई अघि बढाइएको शिक्षा महाशाखाका प्रमुख सिताराम कोइरालाले जानकारी दिए । किचनबाट बालबोध सहित बंशगोपाल, जनप्रीय, लक्ष्मी आधारभुत, ज्योती, गोरक्षश्वर, कमला, दिव्यज्योती र राजदेवी माविमा खाजा जाने व्यवस्थापन समितिका अध्यक्ष अर्यालले जानकारी दिए ।

संघिय सरकारबाट चैत्र महिनामा खाजा व्यवस्थापनको लागि बजेट आएपनि आन्तरिक काम मिलाउने क्रममा भर्खरै मात्र किचन सञ्चालनमा आएको महाशाखाका प्रमुख कोईरालाले बताए । उनका अनुसार चार वडाका नौ विद्यालयमा कक्षा १० सम्म पढ्ने ७ हजार विद्यार्थी खाजाबाट लाभान्वित हुने छन् । किचनमा राष्ट्रिय मापदण्ड अनुसार विद्यालय सञ्चालनको ६ दिन ६ नै प्रकारका खाजा बनाउने र वितरण हुनुपर्ने छ । किचन व्यवस्थापनले स्थानिय उत्पादनलाई प्राथमितामा राखेर खाजा वितरणको काम गर्न पनि सक्ने बताइएको छ ।

किचनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा– १८ का अध्यक्ष अनिलकुमार बानियाँ, शिक्षा महाशाखाका प्रमुख कोइरालाले अनुगमन तथा निरीक्षण गरेका छन् । किचन सञ्चालनको लागि चालु आर्थिक वर्षमा संघिय सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अनुगमनपछि नगर प्रमुख लामाले विद्यार्थीको स्वास्थ्यलाई ध्यान राखेर खाजाको व्यवस्थापन गर्न सुझाव दिइन् ।