Ad Image

आईटी क्षेत्रमा बहस होइन, अब एक्सनमा जानुपर्ने समय आएको छ: गगन थापा

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-06-23 at 3.53.27 PM.jpeg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले दिने सेवा–सुविधा लिन लामो समय लाइन बस्नुपर्ने अवस्थाबाट जनता आजित बनेको बताएका छन्।

हुलाक सञ्चारको चौथो वार्षिकोत्सव समारोहमा बोल्दै महामन्त्री थापाले राज्यका सेवा लिन ‘या त लाइन बस्नुपर्छ, या त चिनजानको मान्छे चाहिन्छ’ भन्ने बाध्यता अझै कायम रहनु दुःखद भएको टिप्पणी गरे।

उनले भने, ‘अहिले आम नागरिकलाई सरकारसँग सबैभन्दा बढी झोक लाग्ने कुरा भनेको लाइन बस्नुपर्ने बाध्यता हो। राज्यसँग जहाँ भेट भयो, त्यहीँ रिस उठ्छ। यस्तो अवस्था अन्त्य गर्न राज्यसँग भेट नै नहुने, या भए पनि अनावश्यक रूपमा फिजिकल्ली भेट हुन नपर्ने वातावरण बनाइनुपर्छ।’

महामन्त्री थापाले प्रविधिको प्रयोगमार्फत जनसेवामा सुधार ल्याउन सकिने उल्लेख गर्दै भने, ‘राज्यप्रति नागरिकको विश्वास बढाउने उपाय भनेकै सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउनु हो।’

उनले जनप्रतिनिधि तथा राजनीतिक व्यक्तिका लागि पनि प्रविधिको उच्चतम प्रयोग अत्यन्त उपयोगी हुने धारणा राखे।

थापाले सूचना प्रविधि (आईटी) क्षेत्रलाई अब छुट्टै क्षेत्रका रूपमा मात्र नभइ, अन्य सबै क्षेत्रसँग जोडेर हेर्नुपर्ने पनि बताए।

उनले आईटीलाई शिक्षा, स्वास्थ्य र कृषिसँग एकीकृत गरेर प्रयोग गर्नुपर्ने समय आएको बताए । “हामी अझै पनि सूचना प्रविधिलाई छुट्टै संसारका रूपमा बुझिरहेका छौँ, तर अब कृषि, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा कसरी प्रविधिको प्रयोग गर्ने भन्नेमा गम्भीर छलफल र कार्यान्वयन आवश्यक छ,” थापाले भने ।

उनले शिक्षा क्षेत्रमा गणित र विज्ञानमा देखिएको जटिलता समाधानमा प्रविधिले सहयोग गर्न सक्ने तथा स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको समस्यामा डिजिटल उपायले भरपर्दो सहयोग पुर्‍याउन सक्ने धारणा राखे । “सेक्टर छुट्टाएर होइन, सबैलाई एउटै प्लेटफर्ममा राखेर योजना बनाउनुपर्छ,” उनले जोड दिए ।

थापाले पछिल्लो समय आईटी क्षेत्रलाई लिएर सञ्चारमाध्यम, संसद् र राजनीतिक तहमा बहस भएकोमा सकारात्मक प्रतिक्रिया जनाए पनि केवल विमर्शमै सीमित भएर नहुने चेतावनी दिए । “अब बहस होइन, एक्सनमा जानुपर्ने समय आएको छ,” उनले भने, “बहस वरपर मात्रै घुमिरह्यौँ भने हामी कहीँ पुग्दैनौँ ।”

उनका अनुसार सूचना प्रविधिको क्षेत्रले रोजगारी सिर्जना, सेवा निर्यात र स्टार्टअप विकासमा उत्साहजनक प्रगति गरे पनि समग्र मूल्यांकन गर्दा अझै धेरै गर्न बाँकी रहेको छ । “ग्लोबल र्‍याङ्किङमा नेपालभन्दा तल जम्मा ५०–६० वटा देश मात्रै छन्,” भन्दै उनले सुधारका लागि अझ धेरै मिहिनेत गर्नुपर्ने बताए ।

“आजसम्म धेरै काम गरियो, तर अझ धेरै गर्न सकिन्थ्यो भन्ने बोध हुन जरुरी छ,” थापाले भने, “अब पनि ढिला गर्‍यौं भने हामी चुक्नेछौं । समय यही हो – काम गर्नैपर्छ ।”