इरानको सैन्य संरचना र एभिन जेलमा इजरायलले गर्यो आक्रमण


काठमाडौं । इजरायलले सोमबार इरानको राजधानी तेहरानमा स्थित इरानको सैन्य संरचना र प्रसिद्ध इभिन जेलमाथि हवाई आक्रमण गरेको छ । इजरायलका अनुसार यो आक्रमण हालसम्मकै सबैभन्दा शक्तिशाली रहेको बताइएको छ । युद्धको ११ औं दिनमा इजरायलले तीव्र बलप्रयोगका साथ इरानी ‘शासनका लक्षित संरचना’ हरूमा कारबाही गरेको जानकारी दिएको छ ।
इजरायली रक्षा मन्त्री इस्राएल कात्जले उक्त कारबाहीलाई ‘अभूतपूर्व बल प्रयोगसहित शासनको नियन्त्रण संरचनामाथिको प्रहार’ भनी वर्णन गरे । उनका अनुसार आक्रमणका लक्ष्यहरूमा इभिन जेल, घरेलु बासिज मिलिसियाको कमाण्ड केन्द्र र सैन्य संरचना समावेश थिए । इभिन जेल राजनीतिक बन्दी र शासन विरोधीहरूलाई राख्ने ठाउँका रूपमा चिनिन्छ ।
इजरायली सेनाले एक वक्तव्यमार्फत् आक्रमणको उद्देश्य ती संरचना निस्तेज पार्नु रहेको जनाएको छ, जुन इरानमा आन्तरिक सुरक्षाको निगरानी तथा शासनको स्थायित्व सुनिश्चित गर्ने काममा संलग्न थिए । साथै, तेहरान दक्षिणतर्फको पर्वतीय क्षेत्रमा अवस्थित महत्वपूर्ण फोर्डो युरेनियम समृद्धिकरण केन्द्र पनि निशानामा परेको थियो ।
इजरायली सेनाले भने अनुसार, फोर्डो केन्द्रको ‘पहुँच मार्गलाई अवरुद्ध गर्न’ सोमबार आक्रमण गरिएको हो । उक्त स्थानमा अघिल्लो दिन संयुक्त राज्य अमेरिकाले ‘बंकर बस्टर’ बम प्रयोग गरी आक्रमण गरेको थियो । अमेरिका तथा इजरायलले इरानको आणविक कार्यक्रमलाई सम्भावित खतराको रूपमा लिएका छन् ।
इरानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट अहिलेसम्म ४०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उता, इरानका आक्रमणहरूले इजरायलमा २४ जनाको ज्यान गएको पुष्टि गरिएको छ ।
तेहरानमा आक्रमणपछि विद्युत् आपूर्ति प्रणालीमा असर परेको र केही समयका लागि विद्युत् अवरोध भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । उता इजरायलको राष्ट्रिय विद्युत् कम्पनीले पनि देशको दक्षिणी भागमा रहेको ‘रणनीतिक संरचना’ नजिक क्षति पुगेको जनाएको छ, यद्यपि स्थान र कारण खुलाइएको छैन ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो दिन इरानी आणविक संरचनामाथि गरिएको अमेरिकी आक्रमणले ‘पूर्णरूपमा नष्ट’ गरेको दाबी गरेका छन्। यद्यपि केही अधिकारीहरूका अनुसार त्यसको वास्तविक असर मूल्यांकन गर्न अझै समय लाग्नेछ ।