सुन तस्करी प्रकरणमा २ लाख धरौटीमा छुटेकी रोका सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ


काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी तिरेर रिहा भए लगत्तै अमला रोकालाई प्रहरीले फेरि पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतले उनलाई ६१ किलो सुन तस्करी प्रकरणमा सोमबार २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उक्त धरौटी बुझाए रिहाई भए लगत्तै उनलाई नेपाल प्रहरीको केन्द्री अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
उनलाई सम्पत्ति शुद्धीकरण विभागबाट पत्र आएकाले पक्राउ गरेर विभागको जिम्मा लगाइएको सीआईबीले जनाएको छ । सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो ।
सुन तस्करी र व्यवस्थापनमा संलग्न भएको प्रमाणसहित प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले रोकलालाई प्रतिवादी बनाएको थियो ।
सीआईबीले सरकारी वकिल कार्यालयमार्फत रोकालाई अदालतमा उपस्थित गराएको थियो । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो । उनी सुनकान्डमा मुछिएका बेल्जियम नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।
राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो । १९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो । अमला रोल्पाकी माओवादी नेतृ समेत हुन् । रोकासँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए ।