मौलापुरमा ‘फ्री बिजुली, फ्री पानी’, पालिकाले तिरिदियो जनताको बिजुलीको महसुल


रौतहट । रौतहटको मौलापुर नगरपालिकाले ‘फ्री बिजुली, फ्री पानी’ योजना अन्तर्गत नगरबासीका विद्युतको महसुल तिरिदिएको छ । नगर प्रमुख रिना कुमारी साहले नगरबासीका विद्युतको महसुल बापतको ६० लाख रुपैयाँ बराबरको चेक विद्युत प्राधिकरणलाई हस्तान्तरण गरेकी हुन ।
यो रकम चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत नगरवासीका विद्युत महसुलको भुक्तानीका लागि प्रदान गरिएको हो। ‘फ्री बिजुली, फ्री पानी’ योजना यसअघि नै २ करोड ५७ लाख १० हजार निकासा गरेको थियो । हालसम्म यो योजनामा कुल ३ करोड १७ लाख १० हजार खर्च गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
प्राधिकरणका अनुसार, हालको रकमले २०८२ सालको भदौ मसान्तसम्मको बिजुली महसुल पुग्ने अनुमान छ। शून्य कर नीतिअन्तर्गत मौलापुर नगरपालिकाले नागरिकलाई घरायसी र कृषि प्रयोजनका सबै प्रकारका बिजुली महसुल निःशुल्क बनाएको छ ।