Ad Image

कर नलिने नेपालकै पहिलो नगरपालिका मैलापुरको योजनाः 'कच्ची सडक मुक्त नगर'

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/maulapur2.jpg

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३९ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ । नगर सभाको ९ औँ  बैठकमा उपप्रमुख नागेन्द्र प्रसाद यादवले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । 

मौलापुर नगरपालिकाले यस वर्ष पनि शिक्षा क्षेत्रमा बढी बजेट विनियोजन गरेको छ । शिक्षा क्षेत्रमा कुल बजेटको ४० प्रतिशत भन्दा बढी रकम छुट्याइएको छ । यसैगरी मौलापुरमा नगर प्रहरीको सट्टा नगर शिक्षक र चिकित्सक रहेको छ । मौलापुरले गुणस्तरीय शिक्षा, साक्षरता अभियान, उच्च शिक्षा र प्राविधिक शिक्षाको क्षेत्रमा धेरै बजेट खर्च गर्दै आएको छ । 

यस्तै मौलापुरले विगत ८ वर्षदेखि शून्य कर नीतिलाई अवलम्बन गर्दै आएको छ । मेयर रीना कुमारी साहले यस वर्ष पनि शून्य कर नीति अन्तर्गत फ्रि बिजुली, फ्रि पानी, कार्यक्रमलाई निरन्तरता दिएको बताइन् ।  उनले यही आर्थिक वर्षमा नगरलाई कच्ची सडक मुक्त नगरको रुपमा घोषणा गरिने लक्ष्य समेत लिइएको बताइन् । 

‘हामी शासक होइन, सेवक हौँ, जनतासँग लिने होइन दिने हो । नगर प्रहरी होइन, नगर शिक्षक र नगर चिकित्सक राखेर हामी जनतालाई बढी भन्दा बढी सेवा दिन दिनरात जनताकै सेवामा खटने हो,’ मेयर साहले भनिन् । 

यस्तै मौलापुरले छोरीसँग मेयर कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । यो कार्यक्रम पनि मेयर साहले ल्याएकी हुन् । छोरीसँग मेयर कार्यक्र अन्तरगत पालिकाले बिहेको समयमा हरेक छोरीलाई ३० हजार नगद सहयोग गर्दै आएको छ । यसैगरी मौलापुरले नमुना एकीकृत दलित बस्ती निर्माणदेखि धुवा चुलो मुक्त अभियानलाई निरन्तरता दिएको छ । 

‘आगामी आर्थिक वर्षमा नगरपालिकाबाट नगर गौरवको आयोजनाको रुपमा विगतदेखि सञ्चालन हुँदै आएको पुरातात्विक महादेव मन्दिर, मौलापुर शहरीकरण, एकीकृत नमुना बस्ती विकास लगायतका कार्यक्रमहरूलाई पनि समेटिएको छ । 

यसैबीच नगरसभा एवं बजेट अधिवेशनको उद्घाटन गर्दै आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशले लोकतान्त्रिक बाटो बिराएकाले त्यसलाई करेक्सन गर्नुपर्ने बताएका छन् । उनले मुलुकको विकास र समृद्धिका लागि दलहरु लोकतान्त्रिक मार्गमा हिड्नुपर्ने बताए । 

‘मुलुकले लोकतान्त्रिक बाटो बिराएको छ । त्यो करेक्सन हुनुपर्छ । कांग्रेस र एमालेको गठबन्धन अलोकतान्त्रिक, अप्राकृतिक र अनैतिक रहेकाले जनतामा निराशा छाएको छ । त्यसका कारण कांग्रेस लोकतान्त्रिक बाटोमा हिँड्नुपर्छ,’ साहले भने ।